कक्षा १२ को परीक्षा के हुन्छ ?

२०८२ बैशाख ८, सोमबार १३:३८

सर्लाही – सामुदायिक विद्यालयका शिक्षकहरु तीन सातादेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन् । लामो समयदेखि आन्दोलन गर्दा पनि सरकारले आवश्यक तदारुकता नदेखाएको भन्दै सरकारको चौतर्फी विरोध भइरहेको छ । अर्कोतिर शिक्षकको काठमाडौं केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना अभियान र पठनपाठन प्रभावित भएपछि शिक्षकको समेत आलोचना हुन थालेको छ ।

सरकार र शिक्षकबीचको आ–आफ्नै हठ र अडानका कारण लाखौँ विद्यार्थीको भविष्य अन्योलमा पारिएको भन्दै आन्दोलनरत शिक्षकमाथि पनि दबाब बढ्न थालेको हो । सामुदायिक विद्यालयका शिक्षक विद्यालय बन्द गरेर हड्तालमा उत्रिँदा त्यसको लाभ निजी विद्यालयलाई भएको छ । अहिले विद्यालय तहका कुल विद्यार्थीमध्ये ७० प्रतिशत सरकारी र ३० प्रतिशत निजीमा अध्ययनरत छन् । सरकारी विद्यालयका शिक्षक भर्नाका बेला हड्तालमा उत्रिएकाले यसको फाइदा निजी विद्यालयले लिने देखिएको हो ।

सरकारले वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे पनि शिक्षक आन्दोलनमा हुँदा भर्ना अभियान प्रभावित बनेको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि शिक्षकले सडक आन्दोलन गरिरहेका छन् । सरकारले मन्त्रिपरिषद्को निर्णयबाट वैशाख १२ गते संसद्को वर्षे अधिवेशन बोलाउने बाहेक अरू केही पनि माग सम्बोधन नगरेकाले आन्दोलन जारी रहेको शिक्षक महासंघले बताएको छ । महासंघले मन्त्रिपरिषद् र मन्त्रालयले सम्बोधन गर्नसक्ने माग पनि सम्बोधन नगरेको बताईरहेको छ ।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीका अनुसार सरकारले माग सम्बोधन नगरेपछि महासंघले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेको छ, भर्ना अभियान र एसइईको उत्तरपुस्तिका परीक्षण पनि नगर्ने शिक्षकहरुको अडान छ । विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरूको अडान छ । आन्दोलनमा सहभागी शिक्षकले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने र यसमा पनि शिक्षकहरू समावेश नहुने जानकारी दिएका छन् । शिक्षकहरूले शनिबारसम्म बिहान ११ बजेदेखि अपराहृन ४ बजेसम्म आन्दोलन गर्दै आएकोमा आइतबारबाट भने बिहान ९ देखि १२ बजेसम्मलाई समय परिवर्तन गरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले मंगलवारसम्म पनि विद्यालय खुलेनन् भने कक्षा १२ को परीक्षा लिन कठिन हुने जनाएको छ । बोर्डले महासंघ लगायत सरोकारवाला निकायलाई परीक्षा लिने वातावरण बनाउन पटकपटक आग्रह गर्दा पनि नटेरेर आन्दोलन जारी राखेपछि समस्या परेको हो । परीक्षा स्थगित भए ५ लाख ५३ हजार विद्यार्थीहरू प्रभावित हुनेछन् । बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा गर्ने अन्तिम तयारी भए तापनि आन्दोलन फिर्ता नलिएसम्म परीक्षा हुने सम्भावना क्षिण रहेको जानकारी दिए।

परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कार्यालय सहयोगी, शिक्षक र कर्मचारी रहने व्यवस्था छ । उनीहरू सबै आम शैक्षिक हड्ताल गरी आन्दोलनमा आएका कारण परीक्षा स्थगित हुने सम्भावना बढेको हो । कक्षा १२ को शैक्षिक क्यालेन्डर अनुसार परीक्षा समयमा सञ्चालन नभए त्रिविमा स्नातक तहको भर्ना र प्रवेश परीक्षामा समेत असर पर्नुका साथै विदेशमा अध्ययन गर्न जाने तयारीमा रहेका विद्यार्थीलाई ठूलो समस्या पर्नेछ । यो वर्षको कक्षा १२ को परीक्षाका लागि १ हजार ५९१ परीक्षा केन्द्र तोकिएको छ ।

केन्द्र कायम भएका विद्यालय अधिकांश सामुदायिक विद्यालय नै हुन् । परीक्षामा विद्यालयका प्रअदेखि शिक्षक, कर्मचारी र कार्यालय सहयोगी सबैगरी करिब ४४ हजार जनशक्ति परिचालित हुनेछन् । नियमित र आंगिक र २२ वर्ष पुराना परीक्षार्थी सहित ५ लाख ५१ हजार परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् । पुरानामा वि.सं २०५६ देखि २०७७ सम्मका ३८ हजार परीक्षार्थी छन् । आंशिकतर्फ ९९ हजार ७९३ र नियमिततर्फ ३ लाख ९७ हजार ९७५ विद्यार्थी छन् । – खरिबोटबाट

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार