
सर्लाही – सिरहामा वर्तमान वडाध्यक्षको हस्ताक्षर र वडा कार्यालयको छाप किर्ते गरेको आरोपमा पूर्ववडाध्यक्ष पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साह रहेका छन्। प्रहरीका अनुसार उनलाई सोमबार पक्राउ गरिएको हो।
उनले वर्तमान वडाध्यक्ष सुरेशकुमार यादवको हस्ताक्षर र वडा कार्यालयको छाप किर्ते गरेको आरोप छ। विसं २०८० माघ १९ मा वडाध्यक्ष यादवको नक्कली हस्ताक्षर र वडा कार्यालयको छापसमेत किर्ते गरी पूर्वअध्यक्षले चार किल्ला सिफारिस बनाएको भन्दै उजुरी परेको थियो ।
किर्ते जालसाजी मुद्दामा अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनि विसं २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट नवराजपुर गाँउपालिका–२ को वडाध्यक्षमा निर्वाचित भएका थिए । पछि विसं २०७९ को निर्वाचनमा एमालेबाट नवराजपुर गाउँपालिका अध्यक्षमा चुनाव लडेर पराजित भएका थिए ।