सर्लाही – दुई दिनअघि मात्र मधेश प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त कमल कुमार उपाध्यायविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यायलगायत विरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले बाराको पचरौता नगरपालिकाले सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमिमता गरेकोसम्बन्धमा अनुसन्धान गर्दा उपाध्यायलगायत दोषी देखिएको अख्तियारले जनाएको छ । अख्तियारले पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल आसिम मियाँ अन्सारीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

यादव, अन्सारी र उपाध्यायले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कसूर गरेकोले बिगो रकम तीन लाख ५२ हजार ५६० रुप्रयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिमको जरिवाना सजाय गरी बिगो असुल उपर गर्न अख्तियारले विशेष अदालतसमक्ष माग दावी गरेको छ ।
नगरपालिकाबाट आर्थिक वर्ष २०७७/७८ मा सञ्चालित ठेक्काहरू…को बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नु पर्नेमा के एस मल्टिपर्पस प्रालिका अध्यक्ष कमल कुमार उपाध्यायसमेतको मिलेमतोमा पचरौता नगरपालिकाको ठेक्काको अभिलेख राख्ने प्रयोजनार्थ मात्र प्रभाव दैनिक पत्रिकामा एक प्रति मात्र बोलपत्र आह्वानको सूचना प्रकाशित गरिएको अख्तियारको निष्कर्ष छ ।
अख्तियारले त्यसरी बोलपत्रसम्बन्धी सूचना प्रकाशित गरी पचरौता नगरपालिकामा पेश गर्न लगाई झट्टा विवरणसहितको पत्रिकाको आधारमा तीन लाख ५२ हजार ५६० रुपैयाँ उपाध्यायको केएस मल्टिपर्पस प्रालिलाई भुक्तानी दिएको पुष्टि भएको जनाएको छ ।
मुद्दा दायर भएसँगै उपाध्याय मधेश प्रेस काउन्सिलको अध्यक्ष पदबाट स्वतः निलम्बन भएका छन् । उपाध्यायलाई जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा सोमबार गृह, संचार तथा कानुनमन्त्री राजकुमार लेखीले सपथ ग्रहण गराएका थिए । लगत्तै उनी काउन्सिलको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका थिए । – अन्लाइन खबर






