सुनको सिक्री नपाएको निहुँमा विवाह नै भाँडेर हिँडेको बेहुलासहित ५ जनालाई ६ महिना कैद

२०८२ बैशाख ९, मंगलवार २०:२४

सर्लाही – एक वर्षअघि दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह नै भाँडेर मण्डपबाट हिँडेको आरोप लागेका बेहुला, उनका बुबासहितका पाँच जनालाई पर्सा जिल्ला अदालतले ६/६ महिना कैदको सजाय सुनाएको छ। मंगलबार पर्सा जिल्ला अदालतका न्यायाधीश मोहन सुवेदीको एकल इजलासले बेहुलासहित पाँच जनालाई विवाह सम्बन्धी कसुरमा ६/६ महिना कैद सजाय र जनही ५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो।

साथै, त्यसबेला बेहुला पक्षले दाइजोमा लिएको नगद ५ लाख ६५ हजार रुपैयाँ बेहुली पक्षलाई फिर्ता दिनुपर्ने फैसलापनि अदालतले गरेको छ। २०८० फागुन २८ गते वीरगन्ज महानगरपालिका-२४ रामगढवामा बेहुलीको घरमा वैवाहिक समारोह चलिरहकै बेला बेहुलाले सुनको सिक्री मागेको विषयमा बेहुली पक्षसँग विवाद हुँदा कुटपिटसमेत भई बिहे नै भाँडिएको थियो। त्यसमा संलग्न बेहुला, उनका बुबा, दुई दाजु र भिनाजु गरी पाँच जनालाई प्रहरीले त्यही राति बेहुलीको घरबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो।

२०८० फागुन २९ मा बेहुली पक्षले दिएको जाहेरीका आधारमा पक्राउ परेका बेहुला बाराको कलैया–४ का २८ वर्षीय उमेश साह, उनका बुबा ६० वर्षीय बच्चालाल साह गोढ, दाजुहरू ४२ वर्षीय राकेश कुमार साह, ४० वर्षीय मुकेश कुमार साह र भिनाजु बाराकै परवानीपुर ५ का ४५ वर्षीय रामएकबाल साहविरुद्ध विवाह सम्बन्धी कसूरमा प्रहरीले मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाएको थियो। तर त्यसको केही दिनपछि पर्सा जिल्ला अदालतले धरौटीमा उनीहरूलाई रिहा गरेको थियो।

वीरगन्ज–२४ रामगढवास्थित बेहुलीको घरमा बनाइएको बिहेको जग्गेमा सामाजिक परम्परा अनुसार वैवाहिक विधि चलिरहेका बेला विवाद भई बेहुला र बेहुली पक्षबीच कुटाकुटसमेत भएको थियो। त्यसपछि बेहुला उमेश बिहे नगर्ने भन्दै जग्गेबाट उठेर हिँडेका थिए। लगत्तै बेहुली पक्षले खबर गरेपछि विवाहस्थलमा पुगेको प्रहरीले बेहुला उमेशसहित उनका पक्षका पाँच जनालाई नियन्त्रणमा लिएको थियो। – अन्नपूर्णबाट

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार