
सर्लाही – भारतको कास्मिरको पहलगामस्थित बैसारन उपत्यकामा भारतीय पर्यटकमाथि भएको हमलामा मृत्यु हुनेको संख्या २८ पुगेको छ । उक्त हमला पहलगामबाट ५ किलोमिटर टाढा बैसारन उपत्यकामा भएको बताइएको छ ।
जम्मू र कास्मिर प्रहरीका निरीक्षक महानिर्देशक विदीकुमार बिर्डीले बीबीसी हिन्दीलाई बताएअनुसार हमला भएको क्षेत्रसम्म प्रहरी अझै पुग्न सकेको छैन । यो हमलाबारे अहिलेसम्म कुनै समूहले पनि जिम्मा लिएको छैन ।
भारतको गुजरातबाट आएका एक प्रत्यक्षदर्शी पर्यटकले बताए अनुसार अचानक भएको हमलापछि आतंक मच्चिएको थियो । टाइम्स अफ इन्डियाका अनुसार हमलापछि साउदी अरबको यात्रा छोट्याएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार राति नै स्वेदेश फर्किएका छन्।
पूर्वनिर्धारित समयअनुसार उनी बुधबार रातिमात्र फर्किने योजना थियो । कास्मिर हमलापछि मोदीले दोषीलाई कानुनको दायरामा ल्याइने बताउँदै आतंकवादविरुद्ध आफू अडिग रहेको दोहोर्याएका छन् । यसअघि आक्रमण लगत्तै भारतका गृहमन्त्री अमित शाहले मंगलबार आपतकालीन सुरक्षा बैठक गर्न कास्मिरको श्रीनगर पुगेका थिए ।
यो आक्रमणलाई २०१९ मा पुलवामा भएको आक्रमण पछि जम्मू कश्मीरमा भएको सबैभन्दा ठूलो आक्रमण मानिएको छ। सो समयमा ४० जना सीआरपीएफ जवानको मृत्यु भएको थियो।
उक्त हमलामा एक नेपालीको पनि मृत्यु भएको बताईएको छ। उक्त हमलाको घटनालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युरोपेली युनियनकी प्रमुख उर्सुला भोन डर लेयेनलगायत विश्वभरका नेताहरूले निन्दा गरेका छन् ।