सर्लाही – वि.सं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा (आजकै दिन) गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव आठ म्याग्निच्युटको भूकम्प गएको थियो। उक्त दिन र त्यसपछि आएका भूकम्पले ठूलो धनजनको क्षति भएको थियो। आज त्यही दिनको सम्झनामा विभिन्न सचेतनामूलक कार्यक्रम गरि भूकम्प स्मृति दिवस मनाईदै छ।
उक्त भूकम्प हिमालयमा गइरहने थ्रष्ट प्रकृतिको करिब १५ किलोमिटर गहिराइमा गएको मानिन्छ। उक्त भूकम्पले काठमाडौँ उपत्यकालगायत सोको उत्तरी भू–भागमा करिब एक मिनेट कम्पन गराएको थियो। यसको असर पूर्वमा ताप्लेजुङ, पश्चिममा रुकुम र दक्षिणमा चुरे पहाडका अधिकांश भू–भागसम्म परेको थियो। उक्त भूकम्पको झट्का भारतको दार्जिलिङ, बिहार र उत्तर प्रदेशलगायत दिल्लीसम्म पुगेको सार्वजनिक भएको थियो।

भूकम्प गएको ठीक ३४ मिनेट पछाडि मध्याह्न १२:३० बजे उक्त दिन सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर छ दशमलव छ रेक्टरस्केलको कडा पराकम्पन गएको थियो। भूकम्पका परकम्पन मिनेट–मिनेटमा गएका थिए। पुनश्चः वैशाख १३ गते सिन्धुपालचोकलाई केन्द्रविन्दु बनाएर गएको छ दशमलव नौ रेक्टरस्केलको परकम्पले गोरखाबाट सिन्धुपालचोकसम्मको करिब एक सय ४० किलोमिटर क्षेत्रमा दरार उत्पन्न गरी यस क्षेत्रमा अकल्पनीय विनास गर्यो।
भूकम्प र त्यसपछिका ठूला पराकम्पनसँगै चार रेक्टर स्केलभन्दा ठूला अन्य सयौँ परकम्पन एवं हजारौँको सङ्ख्यामा अरु स–साना परकम्पनले नेपालको मध्यभागलाई कम्पित र त्रसित तुल्याएको थियो। त्यो भूकम्प पछिल्लो ८० वर्षकै ठूलो भूकम्प थियो।
मुलुकले बिर्सन नसक्ने गरी भूकम्पले धनजनको क्षति गराएको थियो। त्यसअघि विसं १९९०, २०३७, २०४५ र २०६८ मा गएको भूकम्पले नेपालमा विभिन्नस्तरमा क्षति गराएको पाइन्छ। सात दशमलव छ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए।
भूकम्प स्मृति दिवस मनाउन लागिएको अघिल्लो दिन नै रुकमुपूर्वमा सामान्य प्रकृतिको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु भएर बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको हो।
पश्चिम नेपालमा पछिल्ला दिनमा साना प्रकृतिका भूकम्प लगातार गइरहेका छन् । विसं २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि लगातार जाजरकोटका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेका छन् ।





