सर्लाही – बारामा २२५ किलो गाँजासहित ४ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा बाराको आदर्शकोतवाल – ३, बाँतराका ३० बर्षिय नन्दकिशोर मुखिया बिन, मकवानपुरको हेटौडा नगरपालिका – ४, का २१ बर्षिय कमाण प्रजा, मकवानपुर कैलास गाउँपालिका – ४, देवतिसका २४ बर्षिय सिताराम प्रजा, मकवानपुर बकैया गाउँपालिका – ५, छतिवनका २२ बर्षिय नवराज मगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शुक्रबार विहान जिल्लाको आदर्शकोतवाल – ३, बाँतरा गाउँ छेउ खेतमा पार्किङ गरी राखेको प्र.२-०३-००१ त ४८७६ नं. को ट्याक्टरको ढालामुनि फल्स बटन बनाई गाँजा लुकाई छिपाई राखिएको छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले उक्त ट्याक्टरसहित ४ जनालाई नियन्त्रणमा लिएको हो।
गाँजा र ट्याक्टरसहित चालक नन्दकिशोर मुखिया बिनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दै जाँदा थप ३ जनाको संलग्नता रहेको बुझिएपछि अन्य तिन जनालाई पक्राउ गरिएको थियो। यस सम्बन्धमा थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।





