सर्लाही – सिरहाको गोलबजार नगरपालिका–७, चाहेर्वास्थित एपेक्स विद्या मन्दिरमा अध्ययनरत १३ वर्षीय अविनाश यादव शिक्षकको कुटाइबाट गम्भीर घाइते भएका छन्।
कक्षा ८ मा अध्ययनरत अविनाशलाई शिक्षक सन्तोष गुप्ताले कक्षाकोठा भित्र थुनेर बाँसको लठ्ठीले कुटपिट गरेको आरोप लागेको छ। कुटाइका कारण मुर्छित भएका अविनाशलाई उनका बुबाले उद्धार गरी गोलबजारको एक निजी अस्पतालमा भर्ना गराएका छन्।
अस्पताल स्रोतका अनुसार, बालकको अवस्था अहिले खतरामुक्त भए पनि पूर्ण रूपमा ठिक हुन कम्तीमा एक हप्ता लाग्नेछ। अविनाशको अनुहार, पिठ्युँ र तिघ्रामा गहिरो चोट तथा दर्जनौं नीलडाम देखिएका छन्।अविनाशले अस्पतालको शैयाबाट होशमा आएपछि भने, ‘सरले मलाई कोठामा थुनेर बाँसको लठ्ठीले लगातार हानिरहनु भयो, रोकिएनन्।’
शिक्षकले गृहकार्य नगरेको र निर्देशन पालना नगरेको निहुँमा आफूलाई अमानवीय रूपमा कुटेको अविनाशका पिता सुरेश कुमार यादवले बताए। ‘म खाना खान बसिरहेको बेला फोन आयो – ‘छोरालाई पिटेर बेहोस बनाए’ भनेर। म त गास पनि नखाई दौडिए।
विद्यालय पुगेको बेलामा बच्चा एकदमै गम्भीर अवस्थामा थियो,’ सुरेशले भने। ‘मेरो छोराको ज्यानै लिने प्रयास गरे। यस्ता शिक्षकलाई कडा कारबाही हुनुपर्छ, हामी न्याय चाहन्छौं,’ भन्दै उनले आँसु पुछे। इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार शिक्षक सन्तोष गुप्ता पक्राउ परिरहेका छन्। घटनाबारे अनुसन्धान अघि बढेको छ। – उकेराबाट







