के हाे भारतविरुद्ध पाकिस्तानले सुरु गरेकाे ‘बुनयान-उल-मरसूस’ अपरेशन ?

२०८२ बैशाख २७, शनिबार ०८:३४

जनकपुर – पाकिस्तानी सेनाले भारतको ‘अपरेशन सिन्दूर’ विरुद्ध जवाफी कारबाही सुरु गरेको जनाएको छ । पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले गरेको घोषणा अनुसार भारतको आक्रमणको जवाफमा पाकिस्तानले आधिकारिक रूपमा ‘बुनयान-उल-मरसूस’ को नाममा जवाफी कारबाही सुरु गरेको हो।

अलजजिराले सेनासम्बन्धी स्रोतहरूलाई उद्धृत गर्दै पाकिस्तानले भारतको उधमपुर सहरस्थित एक वायुसेना बेस र पठानकोट स्थित एक एयरफिल्डलाई निशाना बनाएको उल्लेख गरेको छ । पाकिस्तानी सुरक्षा स्रोतहरूले भारतको पञ्जाब राज्यको ब्यास सहरमा रहेको ब्रह्मोस मिसाइल भण्डारणस्थल पनि पाकिस्तानको हमलाबाट प्रभावित भएको दाबी गरेको छ ।

के हो ‘बुनयान-उल-मर्सूस’ ?

बुनयान उल मर्सूसको अर्थ एक दृढ, एकीकृत मोर्चा भन्ने हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । यो अपरेशनको नाम कुरानबाट लिइएको हो । यसले राष्ट्रको सुरक्षा गर्न सेनाको एकता, शक्ति र अनुशासनमाथि जोड दिन्छ ।

इस्लामी सन्दर्भमा यसलाई एकता, अनुशासन र संकल्पको प्रतिकको रूपमा लिइन्छ । पाकिस्तानका सूचना मन्त्री अताउल्लाहका अनुसार यस नामको अर्थ हो, ‘सिसाबाट बनाइएको बलियो पर्खाल’, अर्थात् एक यस्तो पर्खाल जुन अत्यन्तै सतिसालझै रक्षाका लागि उभिन्छ।

पाकिस्तानबाट भएको गोलीबारीमा एक सरकारी अधिकारीको मृत्यु

राजौरीमा पाकिस्तानबाट भएको गोलीबारीमा एक सरकारी अधिकारीको मृत्यु भएको छ। मुख्यमन्त्री उमर अब्दुल्लाहले यो जानकारी दिएका हुन्।

उनले एक्समा लेखेका छन्, “राजौरीबाट आएको हृदयविदारक खबर। हामीले जम्मू कश्मीर प्रशासनिक सेवाका एक समर्पित अधिकारी गुमाएका छौं। हिजोसम्म उनी उपमुख्यमन्त्रीसँग जिल्लाको भ्रमण गरिरहेका थिए र मैले आयोजना गरेको अनलाइन बैठकमा पनि भाग लिएका थिए। आज उनको निवासमा पाकिस्तान तर्फबाट गोलाबारी गरिएको थियो, जसमा हाम्रा अतिरिक्त जिल्ला विकास आयुक्त राज कुमार थप्पा शहीद भएका थिए। यो दुखद क्षतिप्रति शोक व्यक्त गर्ने मसँग कुनै शब्द छैन। उनको आत्माले शान्ति पाओस्।”

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार