यो सरकार आफ्नै कुकर्मको बोझले ढल्नेछ – प्रचण्ड

२०८२ बैशाख २७, शनिबार १७:०२

सर्लाही – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार आफ्नै कुकर्मको बोझले ढल्ने दाबी गरेका छन् । पार्टीको पाँचथर जिल्ला कमिटीले फिदिम बजारमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

तर, आफूहरू अहिले सरकार ढाल्ने हतारोमा नरहेको उनको भनाइ थियो । उनले भने – ‘यो सरकार आफ्नै कुकर्मको बोझले ढल्नेछ । ढल्छ । हामी सरकार ढाल्ने हतारोमा छैनौं । अहिले जनतासँगै छौं।’

अबको निर्वाचनमा आफ्नो पार्टी कसैको वैशाखी टेकेर सहभागी नहुने उनले दोहोर्‍याए । ‘अब यी बुर्जुवाहरूको वैशाखी टेकेर चुनावमा गइने छैन । हामी आफ्नै तागतमा फेरि ०६४ मा जस्तै चुनावमा जानेछौं,’ प्रचण्डले भने ।

उनले पार्टी र आफ्नाविरुद्ध विभिन्न भ्रम छर्ने प्रयास भइरहेको भन्दै त्यस्ता भ्रममा नपर्न नेता कार्यकर्तालाई अनुरोध गरे । ‘कतिपय बेला विभिन्न भ्रम छर्न खोजिन्छ, त्यो भ्रममा नपर्नुहोला,’ प्रचण्डले कार्यकर्तालाई भनेका छन् ।

उनले अहिलेको दुई तिहाइ सरकार भिजेको बिरालोको हालतमा रहेको टिप्पणी पनि गरे । ‘दुई तिहाइ सरकारको भिजेको बिरालोको हालत हामीले देखिरहेका छौं । राम्रो काम एउटा पनि गर्न सकेको छैन । नराम्रो काम मात्रै भइरहेको छ,’ प्रचण्डले भने ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार