भारत–पाकिस्तानबीच युद्धविराम घोषणा, पाकिस्तानमा उत्सव

२०८२ बैशाख २७, शनिबार २०:०६

जनकपुर – भारत र पाकिस्तानबीच लामो समयदेखि चल्दै आएको तनाव, मिसाइल र ड्रोन आक्रमण तथा सीमावर्ती गोलीबारीलाई पूर्ण विराम लगाउँदै दुवै देश शनिबार ‘पूर्ण र तत्काल युद्धविराम’मा सहमत भएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्धविरामको स्वागत गर्दै दुवै पक्षलाई विवेकपूर्ण निर्णय गरेकोमा बधाई दिएका छन्। उनका अनुसार यो सहमति मध्यस्थ वार्ताबाट सम्भव भएको हो। दुवै देशका डीजीएमओबीच मे १२ मा पुनः वार्ता हुने तय भएको छ।

भारतका विदेश सचिव विक्रम मिश्रीले पनि युद्धविरामको पुष्टि गर्दै शनिबार दिउँसो ३:३५ बजे पाकिस्तानका सैन्य सञ्चालन महानिर्देशक (डीजीएमओ) ले भारतीय डीजीएमओसँग सम्पर्क गरी साँझ ५ बजेदेखि स्थल, समुद्र र आकाशमा सम्पूर्ण सैन्य कारबाही रोक्ने सहमति भएको जानकारी दिए।

यता पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले युद्धविराम तत्काल लागू भएको जनाउँदै आफ्नो देश शान्तिमा प्रतिबद्ध भए पनि सार्वभौमसत्ता र अखण्डतामा सम्झौता नगर्ने बताए। भारतीय विदेश सचिव विक्रम मिश्रीले पनि युद्धविरामको पुष्टि गर्दै शनिबार साँझ ५ बजेदेखि स्थल, समुद्र र आकाशमार्गबाट हुने सम्पूर्ण सैन्य गतिविधि रोकिएको जानकारी दिए।

युद्धविरामको घोषणासँगै पाकिस्तानमा उत्सवको माहोल छाएको छ। मुल्तानका सडकहरूमा हजारौं सर्वसाधारणले विजय चिह्न देखाउँदै ट्यांकमाथि चढेर खुसीयाली मनाएका छन्। “हामी युद्ध होइन, शान्ति चाहन्छौं। यो युद्धविरामले हामीलाई नयाँ आशा दिएको छ,” एक स्थानीयले भने।

अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको ज्यान गएको थियो, जसले दुई देशबीचको तनावलाई चरममा पुर्‍याएको थियो। त्यसको प्रतिकृयामा भारतले ‘अपरेशन सिन्दूर’ सञ्चालन गरेको थियो भने पाकिस्तानले त्यसको जबाफस्वरूप मिसाइल आक्रमण गरेको दाबी गरिएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार