आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९, सोमबार ०७:४४

सर्लाही – शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९औं जयन्ती आज मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा बुद्धलाई पुजिन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । दिवसका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्युं) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

दिवसका अवसरमा लुम्बिनीमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई सिँगारिएको छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा बुद्ध जयन्तीका लागि भव्य तयारी गरिएको छ । मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी र वरपरका क्षेत्रहरूलाई रङ्गीबिरङ्गी बत्तीहरूले झिलीमिली पारिएको छ ।

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रूपमा जन्मिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । २९ वर्षको उमेरमा दरबार छोडी उनी तपस्याका लागि निस्केका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार