सर्लाही – महालेखा परीक्षक कार्यालयले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको छ । महालेखा परीक्षक तोयम रायाले आज शितलनिवासमा वार्षिक प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन अनुसार राज्यको बेरुजु सात खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।
महालेखा परीक्षकको ६२औँ प्रतिवेदनमा अद्यावधिक बेरुजुतर्फ संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय र स्थानीय तहतर्फ लेखापरीक्षणबाट गत आर्थिक वर्ष २०८०/८१ मा ९१ अर्ब ५९ करोड ८४ लाख रुपैयाँ बेरुजु थप भएको हो ।

आर्थिक वर्ष २०७९/८० सम्म ६ खर्ब ६९ अर्ब ८३ लाख रुपैयाँ बेरुजु थियो । यसमध्ये संघीय सरकारी कार्यालयको तीन खर्ब ७५ अर्ब ४७ करोड, स्थानीय २ खर्ब नौ अर्ब २९ करोड, समिति र अन्य संस्थाको एक खर्ब १७ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो।





