मधेशमा गम्भीर प्रकृतिका ४ हजार बढी बिरामी

२०८२ जेष्ठ १, बिहीबार १८:२३
सांकेतिक तस्बिर

सर्लाही – मधेश सरकारले गम्भीर प्रकृतिका बिरामीलाई वितरण गरिरहेको आर्थिक सहायता प्रभावित भएको छ । चार हजार जनाभन्दा बढी बिरामीका लागि ४० करोडभन्दा बढी रकम अभाव भएको हो ।

मधेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यान्सर, मुटु, मृगौला, पार्किन्सन, एल्जाइमर, सिकलसेल एनिमिया, थालेसेमिया, मस्तिस्कघात, अर्थराइटिस, लगायत १३ वटा गम्भीर प्रकृतिका बिरामीलाई जनही एक लाख रुपैयाँ गत आर्थिकवर्ष २०८०/८१ देखि वितरण गरिरहेको छ ।

गत आर्थिक वर्षमा पनि बजेट अभाव हुँदा निवेदन नदिएका ५१७ बिरामीको भुक्तानी बाँकी थियो । चालु आर्थिक वर्षमा गत आवको बाँकीसहित हालसम्म ९ सय जनालाई वितरण गरिएको छ । तर बजेट नहुँदा सहायताका लागि निवेदन दिएका ४ हजार जनाभन्दा बढी बिरामीको भुक्तानी बाँकी रहेको मन्त्रालयका जनस्वास्थ्य प्रशासक सन्तोष ठाकुरले बताए । ‘चालु आर्थिक वर्षमा न करोड रुपैयाँ मात्र विनियोजन गरिएको थियो।

त्यो बजेट वितरण गरेर सकिसकेको छ । ४ हजार जनाभन्दा बढी बिरामीलाई अझै सहायता वितरण गर्नुपर्ने बाँकी छ,’ उनले भने, ‘निवेदन परेकाहरूलाई वितरण गर्न ५० करोडसम्म बजेट चाहिन्छ ।’ उनका अनुसार बाँकीलाई वितरण गर्न करिब २ महिनाअघि नै ३८ करोड रूपैयाँ स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग माग गर्दै निवेदन पठाएको थियो ।

तर अहिलेसम्म बजेट आइनसकेकाले आर्थिक सहायता वितरण ठप्प भएको छ । आर्थिक सहायता पाउने प्रकृतिका मधेश प्रदेशमा दैनिक मुटुरोग, क्यान्सर लगायतका ५० जना गम्भीर प्रकृतिका बिरामी आठवटै जिल्लामा थपिने गरेको उनको भनाइ छ। आर्थिक सहायताका लागि अहिले दैनिक २० देखि २५ जनाले निवेदन दिने गरेको उनले बताए । – अन्लाइन खबरबाट

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार