
एसपी यादव, सर्लाही – सर्लाहीको भाँड्सर नाकाबाट गतवर्ष अवैध धान तस्करीमा प्रहरी चौकी भाँड्सरका इन्चार्ज असई राजेश प्रसाद यादवको प्रत्यक्ष संलग्नता रहेको आरोप लागे पनि हालसम्म उनलाई कुनै कारबाही गरिएको छैन । असई यादवमाथि नागरिक समाज तथा सरोकारवालाहरूले तत्काल कारबाहीको माग गरेका छन् ।
असई यादवलाई प्रहरी चौकी भाँड्सरको इन्चार्जका रूपमा वर्तमान समयसम्म पनि कार्यरत रहन दिएकोले सुरक्षा निकायप्रतिको जनविश्वास गुमेको स्थानीयहरुले बताएका छन् । नागरिक समाजले, तस्करीको आरोप लागेको असई यादवमाथि तत्काल छानबिन र विभागीय कारबाहीको माग गरेका छन् । उनीहरूको भनाइ छ, “तस्करीमा संलग्न प्रहरीलाई कारबाही नभएसम्म कानुनको शासनको अर्थ रहँदैन ।”
तस्करीजस्तो संगठित अपराधमा संलग्न रहेको आरोपित प्रहरीलाई कानुनी दायरामा ल्याइएन भने राज्यको शासनप्रणालीप्रति जनविश्वास गुम्ने खतरा रहेकोले नेपाल प्रहरीको केन्द्रीय नेतृत्व र सर्लाहीका नयाँ एसपी खड्काले यस विषयमा के कदम चाल्ने हुन् भन्नेमा अहिले सबैको ध्यान केन्द्रित भएको सरोकारवालाहरूले बताएका छन् । अवैध धान तस्करी प्रकरणमा आरोपित नेपाल प्रहरीका असई यादवलाई हालसम्म कुनै कारबाही नभएको विषयले सर्लाहीमा चर्चा पाएको छ ।
असई यादव गतवर्षदेखि हालसम्म पनि प्रहरी चौकी भाँड्सरकै इन्चार्ज रहेका छन् । बिओपि भाँड्सरका तत्कालीन सशस्त्र प्रहरी इन्चार्ज सई संतोष शाहसहितको टोलीलाई सोही अवैध धान तस्करी प्रकरणमा मधेस सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनी महोत्तरीका तत्कालीन बाहिनिपति डिआईजी कालिदास धौबजीले कारबाही गर्दै तत्काल गणमा तानेका थिए । भने उक्त बिओपिमा नयाँ टोली पठाएका थिए ।
भाँड्सर नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रत्यक्ष संलग्नतामा धान तस्करी व्यापक रूपमा भइरहेको प्रकाशित समाचारका साथै आवश्यक सूचना सशस्त्र प्रहरी महानिरीक्षक (आईजिपी) राजु अर्याललाई प्राप्त भएपछि उनले गतवर्ष माघ २० गते उच्चस्तरीय टोली परिचालन गरी अवैध धान तस्करीलाई तत्काल नियन्त्रणमा लिन सफल भएका थिए । भने उच्चस्तरीय टोलीको नेतृत्व तत्कालीन डिआईजी कालिदास धौबजी आफैले गरेका थिए ।
उनि उक्त नाकाको स्थलगत निरीक्षक गर्दै सो तस्करी सम्बन्धमा प्रशस्तै तथ्य र प्रमाणहरु फेला पारेका थिए । तर सोही तस्करी प्रकरणमा प्रत्यक्ष संलग्नता रहेको आरोप लागेको नेपाल प्रहरीका असई राजेश प्रसाद यादवलाई हालसम्म पनि कुनै कारबाही गरिएको छैन । उल्टै असई यादवलाई प्रहरी चौकी भाँड्सरको इन्चार्जका रूपमा वर्तमान समयसम्म पनि कार्यरत रहन दिएकोले सुरक्षा निकायप्रतिको जनविश्वास खस्किएको छ ।
स्रोतका अनुसार, असई यादवले सर्लाहीका पूर्व एसपी रविन्द्र बहादुर सिंहलाई मासिक रूपमा मोटो रकम बुझाउँदै आएकाले उनी संरक्षणमा रहँदै आएका थिए भने यही बैशाख २३ गतेदेखि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा एसपी योगेन्द्र कुमार खड्काले नयाँ प्रमुखका रूपमा पदभार सम्हालेका छन् । सीमानाकामा सुरक्षाको जिम्मेवारी पाएका असई राजेश प्रसाद यादवको प्रहरी चौकी भाँड्सरमा मोजमस्ति छ । असई यादवको संरक्षणमा सिमामा गैरकानुनी क्रियाकलाप बढ्नुका साथै व्यापक तस्करी मौलाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सेटिङमा भन्सार छलेर भारतीय सामग्रीहरु चिनी, तेल, चामल, मलखाद्य, कपडा, स्पेयर पार्टस्, खसी, कुखुरा र कुखुराको चल्ला, अन्डा, कस्मेटिक तथा खेलकुद लगायतका सामग्रीहरु नेपाल भित्रिने गरेको छ । भने तस्करहरुले नेपाल तर्फबाट गाईगोरु, मदिरा, सुपारी, मरिच, अलैंची र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरु भारततर्फ यस नाकाबाट चोरी निकासी गर्दै आएका छन । यसबाट नेपाल सरकारलाई प्राप्त हुने करोडौ रुपैयाँको सरकारी राजस्व चुहावट भइरहेको छ ।