
सर्लाही – शुक्रबार साँझको अचानक चलेको हावाहुरीका कारण सर्लाहीमा दुई जना घाईते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जिल्लाको हरिवन नगरपालिका – ५, घुर्कौलीमा किराना पसलमा बसि रहेको अवस्थामा किराना पसलको जस्तापाता हावाहुरीले उडाएर लाग्दा स्थानीय ७५ बर्षिया दलेमुन खातुन घाईते भएकी छन्। उनको अवस्था सामान्य रहेको र अहिले उनको नमुना अस्पताल हरिवनमा उपचार भईरहेको छ।
यस्तै, बागमती नगरपालिका – २, धरारामा आफ्नै मकै बारीमा काम गर्ने क्रममा बकाइनको रुखको हाँगा भाँची लाग्दा स्थानीय ३८ बर्षिय नवराज राय क्षेत्री घाईते भएका छन। प्रहरीका अनुसार उनको ढाडमा चोट लागेको छ। उनलाई नमुना अस्पताल हरिवनमा सामान्य उपचार पश्चात थप उपचारको लागि भरतपुर चितवन लगिएको छ।
यस्तै हावाहुरीले इलाका प्रहरी कार्यालय हरिवनको कार्यालय परिसर भित्र रहेको समिको रुख ढल्दा रुख मुनि पार्किङ गरी राखिएका ३ वटा मोटरसाईकलमा क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी एवम् सूचना अधिकारि सरोज राईले जानकारी दिए।
हावाहुरीले यता बिद्युतमा पनि क्षति पुगेको छ। यो समाचार तयार पार्दासम्म जिल्लाका अधिकांश स्थानमा बिद्युत छैन। बिद्युत बितरण केन्द्र मलंगवा सर्लाहीका अनुसार हावाहुरीले नवलपुर – मलंगवा ३३ केभी लाईनमा धेरै स्थानमा रुखहरु ढलेका कारण जिल्लाका अधिकांश स्थानमा बिद्युत अबरुद्व भएको छ।
जिल्लाको गोडैतामा साँझ साँढे ५ बजेदेखि गएको बिद्युत १० बज्ने लाग्दासमेत आउँन सकेको छन्। मर्मत कार्य भईरहेको र मर्मत कार्य सम्पन्न हुन् साथ् बिद्युत सेवा सुचारु हुने बितरण केन्द्रले जनाएको छ।