आजको मौसम: तराईमा हावाहुरी, पहाडमा चट्याङसहित वर्षा हुने

२०८२ जेष्ठ ४, आईतवार ०७:४८

सर्लाही – हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश प्रदेशको पश्चिमी भू-भाग, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ। दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहनेछ ।

कोशी प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका ‍एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

राती भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार