
सर्लाही – जनमत पार्टीका पूर्व कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकराज जोशीको इजलासले आइतबार उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
उनीविरुद्ध शुक्रबार जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएको थियो। ललितपुरको महालक्ष्मी नगरपालिका ४ को कित्ता नम्बर ९४३ मा खरिद गरेको घर पार्टीलाई फिर्ता नदिएको भन्दै जनमतले उनीविरुद्ध जाहेरी दिएको थियो।

जाहेरीपछि उनलाई प्रहरीले सप्तरीबाट पक्राउ गरी ललितपुर ल्याएर ललितपुर प्रहरीले अनुसन्धान गरेको थियो। सुरेन्द्रले पार्टीले अध्यक्ष सिके राउतको लागि खरिद गरेको घर पत्नी ललिताकुमारी यादवको नाममा पास गरेको र पछि नामसारी गरिदिन नमानेको अभियोग छ।