सर्लाही – काभ्रेको धुलिखेलमा बिद्युतको पोलमा करेन्ट लागेर मृत्यु भएका सर्लाही ईश्वरपुर नगरपालिका–१२ का उपेश नेपालीको परिवार र विद्युत् लाइन मर्मतको जिम्मा पाएको सुदिपा निर्माण सेवाका प्रोपाइटर दिपक प्रसाद धितालबीच सहमति भएको छ।
सहमति अनुसार परिवारका सदस्यको नाममा संयुक्त खाता खोलेर ७ दिनभित्र १० लाख रकम उपलब्ध गराईने भएको छ। यस्तै, मृतकका परिवारलाई पालन पोषण र छोराछोरीलाई शिक्षाका लागि क्षतिपूर्ति उपलब्ध गराइने छ ।

विद्युत् प्राधिकरणको काभ्रे वितरण केन्द्रले विद्युत् दुर्घटना क्षतिपूर्ति विनियमावली अनुसार अधिकतम १० र न्युनतम ५ लाख रुपैयाँसम्म उपलब्ध गराउन कार्यकारी प्रमुख अमृत बाबु अधिकारीले पहल गर्ने सहमति पनि भएको छ ।
पोलमा करेन्ट लागेर मृत्यु भएका उपेशकी श्रीमतीलाई विद्युत् प्राधिकरणकै केन्द्रमा रोजगारीको व्यवस्था गरिने पनि सहमति भएको छ । मृतककी श्रीमती रश्मिलालाई घर पायक पर्ने स्थानमा योग्यता अनुसार रोजगारी उपलब्ध गराउने सहमति भएको हो ।





