मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका – ६, स्थित गाउँपालिका चोकबाट प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर – ३० – ७०१६ नम्बरको मोटरसाइकललाई शंका लागि रोकी जाँच गर्ने क्रममा मोटरसाइकल पछाडी सवार ब्रह्मपुरी गाउँपालिका–६ निवासी २२ बर्षिय राहुल कुमार यादवको साथबाट लागू औषध भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार मोटरसाइकल चालक सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–६ निवासी १९ वर्षीय रवि कुमार यादवको साथमा भने केहि भेटिएको थिएन। प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले राहुलको साथबाट नाईट्राभेट ट्याबलेट ४१ पातामा १२३० पिस, स्पाईस ७ पातामा १६८ पिस र सिनारेक्स १०० यामएलको १ बोतल बरामद गरेको छ।
पक्राउ परेका दुबै जनालाई लागू औषध सम्बन्धी कसुरमा अनुसन्धानका लागि सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिइएको प्रहरीले जनाएको छ। बरामद लागू औषध, मोटरसाइकल र पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अनुसन्धान भइरहेको जनाइएको छ।





