सर्लाही – यस वर्षको मनसुन अवधिमा नेपालले सामान्यभन्दा बढी वर्षा र तापक्रमको सामना गर्नुपर्ने जल तथा मौसम विज्ञान विभागले चेतावनी दिएको छ। विभागले ललितपुरमा आयोजना गरेको “राष्ट्रिय मनसुन फोरम–२०८२” कार्यक्रममा विज्ञहरूले यो पूर्वानुमान सार्वजनिक गरेका हुन्।
विभागकी वरिष्ठ मौसमविद् विभूति पोख्रेलका अनुसार देशका विभिन्न स्थानमा ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत वर्षा हुने सम्भावना रहेको बताइन् । उनले यस वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना रहेको बताइन् ।

उनले तापक्रम पनि स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत हुने जानकारी गराइन् । यस्तै, उनले यस वर्षको मनसुन ऋतुको न्यूनतम तापक्रमको आकलन पनि विगत वर्षजस्तै सरदरभन्दा बढी हुने सम्भावना रहेको जानकारी दिइन् ।
वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले नेपालमा कुल वार्षिक वर्षाको करिब ८० प्रतिशत मनसुन अवधिमै हुने भएकाले यो समय अत्यधिक संवेदनशील हुने बताइन्। उनले थपिन्, “मनसुन अवधिमा मात्रै करिब ४० प्रतिशत विपद् घट्ने भएकाले स्थानीय तहदेखि सरकारसम्म सबै तयारी अवस्थामा रहनुपर्छ।”
मनसुन पूर्व तयारी भएमा सम्भावित धनजनको क्षति घटाउन सकिने विश्वास उनले व्यक्त गरिन्। नेपालमा हरेक वर्ष जुनदेखि सेप्टेम्बरसम्मको अवधिलाई मनसुनको समय मानिन्छ। यो समयमा मात्रै तीन सयभन्दा बढी मानिसको ज्यान जाने र दुई सय मिलियन अमेरिकी डलरभन्दा बढीको क्षति हुने गरेको विभागले जनाएको छ।





