
सर्लाही – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा भ्रष्टाचारसम्बन्धी उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) ले छापा मारेको छ।
भिजिट भिसामा दुबईलगायतका देश जान चाहने यात्रुहरूसँग अवैध रूपमा रकम असुलिएको गुनासो प्राप्त भएपछि अख्तियारको टोलीले बुधबार उक्त कार्यालयमा अनुगमन तथा अनुसन्धानका लागि छापा मारेको हो।
अनुसन्धानको सिलसिलामा अख्तियारले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ। स्रोतका अनुसार उनलाई नियन्त्रणमा लिएर आयोगको टंगालस्थित केन्द्रीय कार्यालयमा ल्याइएको छ।
सहसचिव भट्टराई हिजो मात्र त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुखको जिम्मेवारीबाट गृह मन्त्रालयमा फिर्ता बोलाइएको थियो।