बगदहमा स्कारपियो दुर्घटना कि राजनीतिक हमला ? कांग्रेस–माओवादी आमनेसामने, प्रहरी अनुसन्धानमा

२०८२ जेष्ठ ८, बिहीबार ०८:५५

मलंगवा – सर्लाहीको गोडैता नगरपालिकास्थित बगदहमा भएको एक घटनाले अहिले राजनीतिक माहोल तातेको छ।

हिजो अपरान्ह पूर्व–पश्चिम हुलाकी सडक खण्डअन्तर्गत बगदहको चिनी मिल नजिक नेपाली कांग्रेसका नेता एवं रामनगर गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार हरिनन्दन प्रसाद यादव सवार भारतीय नम्बर प्लेट (BR 05 PA 8635) भएको स्कारपियो दुर्घटनामा परेको थियो।

दुर्घटनामा दुई जनालाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटनामा परेको गाडी हाल मलंगवा स्थित जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान थालिएको डिएसपी सरोज राईले जानकारी दिए। घटनापछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आरोप–प्रत्यारोप गरिरहेका छन्।

दुवै पक्षले एकले अर्काे पक्षबाट आक्रमणको प्रयास भएको दाबी गरेका छन्। यही आरोप–प्रत्यारोपका कारण हिजो बेलुका दुवै दलले घटनास्थल र रामनगर क्षेत्रमा प्रदर्शनसमेत गरेका थिए। यता, सुरक्षाकर्मीहरू भने घटनामा राजनीतिक रंग मिसाइएको बताउँदै आएका छन्।

कांग्रेस पक्षले घटनाका क्रममा गोली चलेको भने पनि त्यसको पुष्टि हुन् नसकेको प्रहरीको भनाई छ। ‘गोली चलेको देखिएन तर उहाँहरुले कसरि आरोप लगाउनु भो त्यो उहाँहरु नै जानुन।’ यति मात्र नभई लखेटी-लखेटी, घेरामा हालेर कुटपिटसमेत गरेको कांग्रेशको आरोप छ।

यता माओबादीले भने दुर्घटनालाई “राजनीतिक आक्रमण”का रूपमा रूपान्तरण गर्दै निर्दोषहरूलाई फसाउने सडयन्त्र भइरहेको आरोप लगायको छ। माओवादीले यस्ता कार्यको घोर भर्त्सना गर्दै आवश्यकता परे कडा प्रतिकारमा उत्रिने चेतावनीसमेत दिएको छ।

आरोप अनुसार कांग्रेस नेता हरिनन्द राय यादवले जिल्ला अदालत मलंगवामा “ज्यान मार्ने उद्योग” मुद्दाका फरार प्रतिवादी विष्णु रायलाई हाजिर गराउन नसकेपछि, प्रहरीले समाउने डरले तीव्र गतिमा भाग्दा दुर्घटना भएको हो।

दुर्घटनामा परेका कांग्रेस नेता हरिनन्दन यादव माओवादी केन्द्रका नेता एवं पूर्व संविधानसभा सदस्य शिवपुजन रायका भाई हुन्। उनीहरुकै समूहबीच हाल एकअर्कामाथि आरोप लगाउने क्रम जारी छ, जसले घटनालाई झनै पेचिलो बनाएको छ। प्रहरीले घटनाको समग्र पक्षको अनुसन्धान जारी राखेको बताएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार