भारतले नेपाल सीमामा बढायो सुरक्षा सतर्कता, १,५०० सुरक्षाकर्मी थप

२०८२ जेष्ठ ८, बिहीबार १३:१२

भारत, एजेन्सी — भारतले नेपालसँगको सीमामा सुरक्षा सतर्कता बढाउँदै थप १,५०० जना सुरक्षाकर्मी तैनाथ गरेको छ। पाकिस्तानबाट नेपाल हुँदै भारतमा घुसपैठको सम्भावना रहेको भन्दै भारतले यस्तो कदम चालेको हो।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार पाकिस्तानमा हालै सम्पन्न ‘अपरेशन सिन्दूर’ पछि त्यहाँको आतङ्ककारी समूह आतङ्कित भएका छन्। ती समूहहरूले नेपाल हुँदै भारत प्रवेश गर्ने योजना बनाइरहेको आशङ्कामा भारतले सतर्कता बढाएको हो।

सुरक्षासम्बन्धी भारतीय एजेन्सीहरूका अनुसार नेपालमा हाल ३३ देखि ३७ जना पाकिस्तानी तथा बङ्गलादेशी सन्दिग्धहरू रहेका छन्, जो भारत प्रवेशको प्रयासमा रहेको भनिएको छ।

उनीहरूले लखनउ, वाराणसी, अयोध्या र मथुरा जस्ता शहरहरूलाई सम्भावित निशाना बनाउन सक्ने सूचनाका आधारमा भारत सरकारले सीमा सुरक्षामा कडाइ गरेको हो। बहराइचदेखि बलरामपुरसम्मको क्षेत्रमा विशेष गरी सुरक्षा थपिएको जनाइएको छ।

सीमामा दोहोरो गस्ती र सीसीटीभी निगरानी

भारतको सशस्त्र सीमा बल (एसएसबी) को ४२औँ बटालियनले दोहोरो गस्ती तीव्र पारेको छ। एक नयाँ चौकी स्थापना गरी आवतजावतमा कडाइ गरिएको छ। सीमा पार गर्ने प्रत्येक व्यक्तिको परिचयपत्र अनिवार्य जाँच भइरहेको छ भने सीसीटीभीमार्फत पनि निगरानी भइरहेको छ।

बलरामपुरका एएसपी योगेश कुमारका अनुसार एसएसबी र भारतीय प्रहरीले संयुक्त रूपमा २४ सै घण्टा सीमा क्षेत्रमा निगरानी गरिरहेको छ। स्थानीय गाउँ सुरक्षा समितिहरूलाई पनि सक्रिय बनाइएको छ। जारवा कोतवालीका इन्चार्ज इन्स्पेक्टर गोविन्द कुमारले पीएसी, प्रहरी र एसएसबीको संयुक्त टोलीले गस्ती गरिरहेको जानकारी दिए। गुरुङ नाका चौकीमार्फत हुने आवतजावत हाललाई रोकिएको छ।

नेपालसँग सीमा जोडिएका सबै जिल्लामा अलर्ट

उत्तर प्रदेशका नेपालसँग सीमा जोडिएका महाराजगन्ज, सिद्धार्थनगर, बलरामपुर, बहराइच, श्रावस्ती, पिलिभित र लखिमपुर खेरी जिल्लामा उच्च सतर्कता अपनाइएको छ। सम्भावित घुसपैठलाई मध्यनजर गर्दै सुरक्षाकर्मीहरूको उपस्थिति र गस्ती बढाइएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार