श्री शिवन फुनिया देवी जनता मावि: अराजकता र लापरवाहीको दलदलमा, विद्यार्थीको भविष्य अन्योलमा

२०८२ जेष्ठ १०, शनिबार ०७:२१

सर्लाही – शिक्षा मानव विकासको मेरुदण्ड हो भन्ने भनाइलाई ठाडै चुनौती दिँदै, सर्लाहीको ब्रहम्पुरि गाउँपालिका वडा न. ७ नोकैल्बास्थित श्री शिवन फुनिया देवी जनता माध्यमिक विद्यालयमा चरम लापरवाही, अराजकता र गैरजिम्मेवारी प्रकट भएको छ। शिक्षा भनेको पुस्ता निर्माण गर्ने क्रान्तिको आधार हो। त्यो जग नै सडेको छ भने, भविष्यको इमारत खतरामा पर्नेछ।

ब्रह्मपुरी–७ मा आज देखिएको अराजकता कुनै एक विद्यालयको समस्या होइन — यो सिंगो प्रणालीमा रहेको बेवास्ता र भ्रष्ट प्रवृत्तिको प्रतिबिम्ब हो। शब्दले व्याख्या गर्न नसक्ने गरी विद्यालयको भौतिक, शैक्षिक र व्यवस्थापकीय अवस्था दुर्गति भइसकेको छ। जहाँ शिक्षक समयमा आउँदैनन्, प्रधानाध्यापकले विद्यालयलाई आफ्नै गोदामजस्तो प्रयोग गर्छन्, कक्षाकोठामा पठनपाठन शून्य छ, शौचालय प्रयोगविहीन छन्, दिवा खाजा कागजमै सीमित छ, र विद्यालय परिसरमै गाईगोरु बाँधिएको छ — त्यो स्थानलाई विद्यालय भन्न मिल्छ ?

स्थानीयबासी र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले विद्यालयका प्रधानाध्यापक वासुदेव रायमाथि गम्भीर आरोपहरू लगाएका छन्। उनीमाथि विद्यालय आफ्नै ढंगले चलाउने, सरकारी नियमको पालना नगर्ने, र आवश्यक शैक्षिक संयन्त्र नअपनाउने आरोप लागेका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामछबिला यादवले भने, “प्रधानाध्यापककै एकलौटी निर्णय र गैरजिम्मेवारपनकै कारण विद्यालयको शैक्षिक वातावरण पूर्णरूपमा लथालिङ्ग भएको छ।”

विद्यालयमा शिक्षकहरू समयमा नआउने, नियमित पठनपाठन नहुने, शौचालयको अवस्था नाजुक रहेको, र विद्यालय परिसरमा गाईगोरु बाँध्ने जस्ता अराजक गतिविधिहरू भइरहेको स्थानीयको गुनासो छ। साथै, गाउँपालिकाबाट प्राप्त दिवा खाजाको बजेटसमेत प्रयोग नगरिएको, विद्यालयका कागजातहरू प्रधानाध्यापकले घरमै राख्ने गरेको तथा विद्यार्थीहरूको उपस्थिति न्यून देखिएको छ। अझ अनौठो कुरा के भने – केहि हुने खानेका र नेताका छोरा छोरी अन्य शहरका बिद्यालयमा पढ्ने र भर्ना भने यो बिद्यालयमा हुने र अन्तिम परिक्षा दिन मात्र आउने गरेको पनि बुझिएको छ।

विद्यालय व्यवस्थापन समिति सदस्य अरविन्द कुमार रायले दुःख व्यक्त गर्दै भने, “गाउँपालिकाबाट रकम आएको हो तर प्रधानाध्यापकले दिवा खाजा सञ्चालन नै गरेनन्, बालबालिकाको स्वास्थ्य र मनोविज्ञान दुवैमा असर परेको छ।” यस गम्भीर अवस्थाप्रति ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदारथ साह तेली र प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र राउतले पनि चासो व्यक्त गरेका छन्। उनीहरूले विद्यालयमा देखिएको अराजकता र लापरवाहीमाथि आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।

उनीहरुका अनुसार ति अटेरी प्रधानाध्यापक वासुदेव रायलाई पालिकाले पटक पटक बिभिन्न बिषयमा स्पष्टिकरण सोध्दा कुनै जवाफ नदिएको र अन्य कारवाहीको लागि पहल चाल्दा उनका आफन्त माथिल्लो पदमा रहेकै कारण बचाएको र कारवाही गर्न कठिन हुने गरेको आरोप लागेको छ। स्थानीयको भनाइ अनुसार विद्यालयमा विद्यार्थीहरूको उपस्थिति दिनानुदिन घट्दो छ। यसको मूल कारण हो – नियमित कक्षा सञ्चालन नहुनु, शिक्षकहरूको अनियमित उपस्थिति, तथा सिकाइ वातावरणको पूर्ण अभाव। शिक्षकहरूले पालना गर्नुपर्ने कुनै समय तालिका छैन, र विद्यार्थीहरूलाई पठनपाठनभन्दा बढी उपेक्षा र निराशा मात्रै प्राप्त भइरहेको छ।

शिक्षा देशको आधार हो। तर त्यो आधार नै कमजोर भए, सिंगो राष्ट्रको अस्तित्व संकटमा पर्छ। अब चुप बस्ने बेला होइन आवाज उठाउने, प्रश्न गर्ने र जवाफ माग्ने समय हो। अब अभिभावक चुप छैनन्, स्थानीयबासी सजग छन्। यदि आज कारबाही भएन, यदि सुधारको कदम तत्काल चालिएन भने यो विद्यालय मात्र होइन, हाम्रो पूरै सामाजिक संरचना नै चरम पतनमा जान्छ। प्रशासनले पनि प्रत्यक्ष देखिसकेको छ। अब गुनासो होइन कारबाही, सुधार र जवाफदेहिताको युग सुरु गर्नुपर्ने बेला हो। ढिला भयो भने शिक्षा होइन, सिंगो पुस्ता गुम्नेछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार