
सर्लाही – मिथिलाञ्चलका नवविवाहिता र विवाहित महिलाहरू अटल सौभाग्य र पतिको दीर्घायुको कामना गर्दै सोमबार मनाउन लागिएको वट सावित्री पर्वको तयारीमा जुटेका छन्। विशेषगरी मिथिलाञ्चलसहित महोत्तरी, धनुषा, सिरहा, सर्लाही, रौतहट लगायत तराई–मधेसका जिल्लाहरूमा पर्वको चहलपहल बढेको छ।
विवाहित महिलाहरूका लागि अत्यन्तै महत्वपूर्ण मानिने यो पर्व जेठ कृष्णपक्ष अमावस्याका दिन मनाइन्छ। मिथिलाञ्चलमा यसलाई स्थानीय भाषामा ‘बरसाइत पावइन’ भनिन्छ। विशेषगरी नवविवाहिता महिलाको लागि यो पहिलो ‘बरसाइत’ विशेष महत्व राख्दछ, जसलाई अनिवार्य रूपमा ससुरालीमा (श्रीमानको घर) नै मनाउने परम्परा छ।
पर्वको पूर्वसन्ध्यामा मिथिलानीहरू हाटबजारमा चहलपहल बढाइरहेका छन्। उनीहरू रातो, पहेँलो तथा रङ्गीचङ्गी नयाँ पहिरन, चुरा, पोते, बिन्दी, टिकालगायत श्रृङ्गार सामग्री किनमेल गर्न व्यस्त छन्। साथै, बाँसको चोयाबाट बनाइने परम्परागत पङ्खा र डालो पनि यो पर्वका लागि अनिवार्य सामग्री भएकोले यसको खरिदमा समेत भीड देखिएको छ।
नवविवाहित महिलाका लागि पर्व विशेषरूपमा मनाइन्छ। उनीहरू ‘नहाय–खाय’ (स्नान गरी सात्विक भोजन) गरेपछि माइतीबाट पठाइने सोह्र श्रृङ्गार– लुगा, चुरा, टिका, मेहन्दी आदि लगाएर तयार हुन्छन्।
पर्वको मुख्य दिन बिहानै स्नान गरी रातो वा पहेँलो पहिरनमा सजिएर महिलाहरू नजिकैको वर (वट)को रूखमुनि पुग्छन्। त्यहाँ उनीहरूले पतिसँगै पूजा गर्छन्। यदि वर र पीपलको रूख एउटै स्थानमा भए पूजा त्यहीँ गरिन्छ; नभए वरको रूखमुनि पीपलको हाँगा गाडी दुवै वृक्षको उपस्थितिमा पूजा सम्पन्न गरिन्छ।