सर्लाहीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु, अर्का घाइते

२०८२ जेष्ठ १०, शनिबार १४:३२

मलंगवा – सर्लाहीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने अर्का युवक घाइते भएका छन।

जिल्लाको बागमती नगरपालिका–१, पानीट्याङ्की चोक नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान करिब ८ बजेतिर पूर्वतर्फ जाँदै गरेको बालुवा लोड टिपरले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको हो।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए । दुर्घटनापछि घाइतेहरूलाई तत्काल हरिवनस्थित नमुना अस्पतालमा लगिएको थियो । प्रारम्भिक उपचारपछि दुवैलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पठाइएको थियो ।

दुर्घटनामा घाइते भएका बागमती नगरपालिका–६ निवासी २१ वर्षीय मोहमद कैफ मिकरानीको उपचारका क्रममा आज दिउँसो सोहि अस्पतालमा मृत्यु भएको छ। अर्का घाइते सुमित यादवको अवस्था गम्भीर रहेको र उनको उपचार जारी रहेको छ। दुर्घटनामा परेका सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ।

साथै टिपरका चालक बागमती नगरपालिका–१२ निवासी ३४ वर्षीय उदव मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार