डिजे बजाएर नाच्ने क्रममा बेहुला र बेहुली पक्षबीच झडप, पाँच जना घाइते

२०८२ जेष्ठ १०, शनिबार १५:२२

सर्लाही – मोरङमा डिजे बजाएर नाच्ने क्रममा बेहुला र बेहुली पक्षबीच झडप भएको छ।

जिल्लाको धनपालथान गाउँपालिका–६ कदमहास्थित स्थानीय भजनलाल सहनीका घरमा शुक्रबार राति ११:३० बजेतिर झडप भएको हो। प्रहरीका अनुसार मदिरा सेवन गरेका जन्ती (बेहुला पक्ष) र घरगाउँले (बेहुली पक्ष)बीच बढेको विवाद झडपमा परिणत भएको हो।

झडपमा दुवै पक्षका ५ जना घाईते भएका छन्। घाईते हुनेहरुमा धनपालथान–६ का २८ वर्षीय वीरेन्द्र सहनी, २६ वर्षीय श्रवण सहनी, विराटनगर महानगरपालिका–११ का २९ वर्षीय रोशन सहनी, २५ वर्षीय सुनील सहनी र ३५ वर्षीय अनिल सहनी रहेका छन्।

घाइते सबैलाई उपचारका लागि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको छ। ३ जनाको टाउकोमा चोट लागेको छ। घाइतेहरुको टाउकोमा टाँका लगाइएको र सबै जना खतरामुक्त रहेका छन्। बिहेको कार्यक्रम चलिरहेका बेला बेहुला र बेहुली पक्षबीच विवाद बढेर झडप भएको हो। बिहे घर रणमैदानमा परिणत हुँदा मण्डप र कुर्सीहरु तोडफोड भएका छन्।

तोडफोडमा उत्रिएकाहरुले बिहेको मण्डप नै भत्काइदिएका हुन्। झडप भए पनि जन्ती भने बेहुला र बेहुली लिएर शनिबार बिहानका राति १ बजेतिर विराटनगर फर्किएका थिए। प्रहरीका अनुसार झडपले बिहे स्थल तनावग्रस्त भएपछि तत्कालै बेहुली अन्माएर पठाइएको थियो।

बेहुली लिएर फर्किएको जन्तीको टोलीलाई प्रहरीले स्कर्टिङ गर्नुपर्ने अवस्था आयो। घटनाको संवेदनशीलता देखेर प्रहरीले जन्तीलाई स्कर्टिङ गरेर सुरक्षित रूपमा पठाएको हो। अत्यधिक मदिरा सेवन र अनुशासनहीन व्यवहार नै झडपको मुख्य कारण रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार