भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयको स्पष्टिकरण: नेतृत्वको कुनै संलग्नता छैन

२०८२ जेष्ठ १०, शनिबार १८:०७
file image

सर्लाही – गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा देखिएको भिजिट भिसा प्रकरणबारे विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले यस्ता गैरकानूनी वा भ्रष्टाचारजन्य क्रियाकलापमा आफ्नो नेतृत्व संलग्न नरहेको र भविष्यमा पनि नहुने स्पष्ट पारेको छ।

मन्त्रालयले पछिल्लो समय विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा आएको समाचारप्रति आपत्ति जनाउँदै तिनलाई ‘कपोलकल्पित, भ्रामक र आधारहीन’ भनेको छ। मन्त्रालयले यस्ता समाचारको खण्डन गर्दै सत्य र प्रमाणमा आधारित सूचना मात्र प्रसारण गर्न सबैलाई आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “विगत केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर आएका समाचार एवम् प्रतिक्रिया प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। मन्त्रालय यस्ता समाचारप्रति दुःख व्यक्त गर्दछ र यस्ता कार्यमा नेतृत्वको कुनै संलग्नता नरहेको स्पष्ट गर्दछौं।”

मन्त्रालयले थप स्पष्ट पारेको छ कि अध्यागमन कार्यालयको कार्यसम्पादनसँग सम्बन्धित विषयमा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। अनुसन्धान कार्य पूरा भएपछि सत्यतथ्य सार्वजनिक हुने उल्लेख गरिएको छ। मन्त्रालयले आयोगको अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जनाएको छ।

गृह मन्त्रालयले कानूनको शासन र सुशासनका लागि गृह प्रशासन निरन्तर सक्रिय रहेको भन्दै सबै प्रकारका अनियमितता र आपराधिक गतिविधिमा “शून्य सहनशीलता” नीति अपनाएको जनाएको छ। मन्त्रालयले नीतिगत र संस्थागत सुधारका पहलहरू निरन्तर अगाडि बढाइरहेको जानकारी पनि विज्ञप्तिमार्फत दिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार