सप्तरीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु, एक घाइते

२०८२ जेष्ठ ११, आईतवार ०९:१२
सांकेतिक तस्बिर

सर्लाही – सप्तरीको राजगढ गाउँपालिका–५ स्थित मलेखपुरमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

शनिबार बिहान हुलाकी सडकखण्डमा इँटा बोकेको ट्याक्टर र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनमध्ये दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका–१ जमुनि मध्येपुराका १९ वर्षीय सन्तोष यादव र सोही गाउँपालिका–२ का २२ वर्षीय सागर मण्डल रहेका छन्। घाइते भएका जमुनि मध्येपुराका १८ वर्षीय धनञ्जय यादवलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पत्थरगाढाबाट राजविराजतर्फ जाँदै गरेको स १ त ५४४२ नम्बरको ट्याक्टर र मधेस प्रदेश ०२–०१९ प ९६२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

गम्भीर घाइते भएका सन्तोष र सागरलाई उपचारका लागि लैजाँदै गर्दा एक जनाको बाटोमै र अर्काको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा मृत्यु भएको थियो।दुर्घटनापछि ट्याक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार