सर्लाहीमा अवैध रूपमा ल्याइएको सुनचाँदी र नगदसहित भारतीय गाडी प्रहरीको नियन्त्रणमा

२०८२ जेष्ठ १२, सोमबार ११:०९

सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरस्थित पूर्व–पश्चिम लोकमार्गमा भन्सार छली गरी ल्याइएका सुनचाँदीका गरगहना र नगदसहित एक भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरबाट खटिएको टोलीले पश्चिमबाट पूर्वतर्फ गइरहेको BR 30 AK 7220 नम्बरको भारतीय स्कारपिओ गाडीलाई जाँचका लागि रोकेको थियो । चेकजाँचका क्रममा चालक मापसे अवस्थामा पाइएका थिए भने सवारीसँग कुनै भन्सार कागजात समेत प्रस्तुत गर्न सकेनन् । प्रहरीले वैधानिक कारबाहीको प्रक्रिया सुरु गर्न लाग्दा गाडीमा सवार चार जना पुरुषहरू गाडी छोडेर फरार भए ।

उनीहरू लामो समयसम्म नफर्किएपछि प्रहरीले गाडी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई जानकारी गराएको हो । स्थानीयबासी र जनप्रतिनिधिको रोहवरमा गरिएको खानतलासीमा गाडीको इन्जिन भाग र भित्री भागबाट प्लास्टिक र कपडामा बेरिएको अवस्थामा सुनचाँदीका गहना, नगद र अन्य सामाग्री बरामद गरिएको प्रहरीको भनाइ छ ।

प्रारम्भिक मूल्यांकनअनुसार बरामद सामग्रीको अनुमानित मूल्य डेढ लाख रुपैयाँ बराबरको रहेको छ । गाडी र बरामद वस्तुहरूलाई आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालय, मलंगवामा पठाइएको छ । फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार