सर्लाही बागवानी केन्द्रको आँप ५३ लाखमा ठेक्का, गत वर्षको तुलनामा दोब्बर

२०८२ जेष्ठ १२, सोमबार १४:३३
File image

सर्लाही – उष्ण प्रदेशीय बागवानी केन्द्र सर्लाही, नवलपुरले यस वर्षको लागि केन्द्रमा उत्पादन भएको आँप ५३ लाख ७१ हजार रुपैयाँमा बिक्री गर्ने ठेक्का दिएको छ। लालबन्दी नगरपालिका–२ स्थित बागवानी केन्द्रमा उत्पादित आँप बिक्रीको ठेक्का सुरज निर्माण सेवा, लालबन्दी–१ पुनर्वासले पाएको हो।

केन्द्रका निमित्त वरिष्ठ बागवानी विकास अधिकृत रामकुमार यादवका अनुसार यस वर्ष आँप गत वर्षको तुलनामा झन्डै दुई गुणा बढी मूल्यमा ठेक्का लागेको छ। “गत वर्ष अफ सिजनका कारण फल कम भएकोले ठेक्का रु २१ लाख १५ हजारमा मात्र लागेको थियो,” यादवले बताए, “यस वर्ष फल राम्रो फलेकाले ठेक्का मूल्यमा उल्लेखनीय वृद्धि भएको हो।” केन्द्रले यस वर्ष वैशाख १६ गते पहिलोपटक रु ७१ लाख ११ हजार १२१ मा बिक्री सूचना प्रकाशित गरेको थियो।

तर तोकिएको १५ दिनको अवधिमा कुनै निवेदन नपरेपछि जेठ १ गते दोस्रोपटक रु ५१ लाख ७५ हजारमा पुनः सूचना प्रकाशित गरिएको थियो। दोस्रो चरणमा आएको निवेदन अनुसार ठेक्का रकम केही वृद्धि भई अन्ततः रु ५३ लाख ७१ हजारमा सम्झौता भएको हो। ठेक्का प्रक्रिया चलिरहेका बेला आएको हावाहुरीले केही हदसम्म आँपमा क्षति पु¥याएकाले अनुमानित मूल्यभन्दा केही कममा ठेक्का लगाइएको यादवले बताए।

केन्द्रमा झण्डै एक सय बिघा क्षेत्रफलमा फैलिएका ६ हजार आँपका रुखमध्ये प्रत्येक वर्ष करिब ३ हजार ५ सय रुखमा मात्र नियमित रुपमा फल लाग्ने गरेको छ। मालदह, दशहरी, बम्बै, आम्रपाली, मल्लिका, निलमसहित ३५ भन्दा बढी जातका आँप उत्पादन हुने यस केन्द्रमा आर्थिक वर्ष २०७९/८० मा अहिलेसम्मकै उच्च रु १ करोड ११ लाख मूल्यमा आँप बिक्री भएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार