
सर्लाही – धर्मगुरुका रूपमा परिचित तथा पटक–पटक विवादमा तानिँदै आएका रामबहादुर बम्जन, जसलाई ‘लिटिल बुद्ध’ को नामले पनि चिनिन्छ, सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका छन्।
सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई थुनामा राख्ने आदेश दिएपछि उनलाई मलंगवा कारागार पठाइएको हो। बम्जनविरुद्ध २०८१ फागुन ५ गते सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता गरिएको थियो।
आजको पेशीका क्रममा बम्जन जिल्ला अदालतमा उपस्थित हुँदा उनका सयौं समर्थक तथा अनुयायीहरु अदालत परिसरमा भेला भएका थिए। यसअघि बम्जनलाई सर्लाही जिल्ला अदालतले एक नाबालिका अनुयायीमाथि यौन दुर्व्यवहार गरेको ठहर गर्दै १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो।
तर सो फैसलाविरुद्ध उनले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेका थिए। उच्च अदालत जनकपुरले जिल्ला अदालतको निर्णय उल्ट्याउँदै बम्जनलाई २०८१ चैत ६ गते सफाइ दिएको थियो। त्यसपछि उनी जेलमुक्त भएका थिए। तर, सम्पत्ति शुद्धिकरणसम्बन्धी नयाँ मुद्दामा आज पुनः थुनामा परेका छन्।