मलंगवा – सर्लाहीको बलरा नगरपालिका–२ स्थित छतौनाबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा इलेक्ट्रोनिक चुरोट (भेप) बरामद गरेको छ। भारतबाट नेपाल भित्र्याइएको अनुमान गरिएको भेप सशस्त्र प्रहरी बलको गस्ती टोलीले मोटरसाइकलमा ल्याइँदै गरेको अवस्थामा बरामद गरेको हो।
बीआर ०६ बीक्यु ५४२७ नम्बरको भारतीय नम्बर प्लेट भएको मोटरसाइकलमा लोड गरिएको १५ लाख ५० हजार रुपैयाँ बराबरको भेप र झण्डै एक लाख मूल्य बराबरको मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। प्रहरीलाई देखेपछि चालक मोटरसाइकल छोडेर भागेका थिए।

हाल उनी फरार छन् र उनको पहिचान तथा खोजीको प्रयास भइरहेको प्रहरीको भनाइ छ। सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालयका अनुसार यो भेप भारतबाट कसरी ल्याइयो भन्ने विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको छ। अवैध तस्करीविरुद्ध निगरानीलाई अझ कडा बनाइने पनि प्रहरीको भनाइ छ।





