
सर्लाही – मधेस प्रदेश सरकारले यो वर्षको गणतन्त्र दिवसलाई विशेष बनाउने उद्देश्यले तीन दिनसम्म विविध कार्यक्रमहरूको आयोजना गर्दैछ। प्रदेश सरकार अन्तर्गत गृह, सञ्चार तथा कानुन मन्त्रालयको पहलमा जेठ १४ देखि १६ गतेसम्म ‘गणतन्त्र दिवस सप्ताह’ को रूपमा कार्यक्रमहरू गरि मनाउने भएको हो ।
गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले आज बिहान पत्रकारहरूसँगको कुराकानीमा जानकारी दिँदै, गणतन्त्र दिवसलाई नागरिक अधिकार र लोकतान्त्रिक मूल्यहरूको स्मरण दिवसका रूपमा मनाउन लागिएको बताए। उनका अनुसार सामाजिक, सांस्कृतिक र सम्मानजनक कार्यक्रमहरूमार्फत् दिवसको महत्व उजागर गरिनेछ।
पहिलो दिनको प्रारम्भ सरसफाइ अभियानबाट
कार्यक्रमको पहिलो दिन, आज बिहान ६ बजेदेखि गृह मन्त्रालय परिसरमा सरसफाइ अभियान सञ्चालन गरिएको छ। सरसफाइमा मन्त्री लेखी स्वयं सहभागी भए भने, प्रदेश सचिव विमलप्रसाद बराल, उपसचिव गणेश नायक, कानुन अधिकृत लक्ष्मण राई, नीति आयोगकी सदस्य डा. शिला मिश्रा, आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गा लगायत अन्य कर्मचारी तथा सुरक्षाकर्मीहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीका सयौं सुरक्षाकर्मीहरू पनि अभियानमा सहभागी भएका थिए।
जेठ १५ मा प्रेस स्वतन्त्रता सेनानीहरूलाई सम्मान
गणतन्त्र दिवसको मुख्य दिन, जेठ १५ गते, मधेस प्रदेशभरिका प्रेस स्वतन्त्रता सेनानीहरूलाई विशेष सम्मान गर्ने तयारी गरिएको छ। गृहमन्त्री लेखीले स्वयं उपस्थित भई सम्मान कार्यक्रमलाई नेतृत्व दिनेछन्। उनले स्वतन्त्र पत्रकारिताले निरङ्कुश शासनको विरोध र लोकतन्त्र स्थापनामा खेलेको भूमिकालाई स्मरण गर्दै, यस्तो सम्मान आवश्यक रहेको बताए।
समापनमा जानकी मन्दिर सरसफाइ
कार्यक्रमको अन्तिम दिन, जेठ १६ गते, जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरिने गृह मन्त्रालयले जानकारी दिएको छ। यस अभियानमार्फत नागरिक सहभागिता र सार्वजनिक सम्पत्तिप्रतिको सम्मान अभिवृद्धि गर्ने उद्देश्य लिएको मन्त्रालयले जनाएको छ।