सर्लाही – मधेस प्रदेशसभाको पाँचौँ अधिवेशन यही जेठ २१ गते, बुधबार दिउँसो १ बजेदेखि सुरु हुने भएको छ। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता शत्रुधन यादवद्वारा जारी प्रेस विज्ञप्तिमा सो जानकारी दिइएको हो।
विज्ञप्तिमा उल्लेख अनुसार, प्रदेश प्रमुखले जेठ ११ गते बसेको मधेस प्रदेश मन्त्रिपरिषद्को सिफारिसका आधारमा अधिवेशन आह्वान गरेका हुन्। नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरिएको स्पष्ट गरिएको छ।

“प्रदेश प्रमुखबाट प्रदेश सरकार (मन्त्रिपरिषद्)को जेठ ११ गतेको बैठकबाट आएको सिफारिस अनुसार संविधानको धारा १८३(१) को आधारमा प्रदेशसभाको पाँचौँ अधिवेशन यही जेठ २१ गते दिउँसो १ बजेदेखि लागू हुने गरी आह्वान गरिएको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ,” विज्ञप्तिमा भनिएको छ।
यस अधिवेशनमा विभिन्न नीति तथा कार्यक्रम, विधेयक तथा प्रदेश सरकारका आगामी कार्ययोजना माथि छलफल हुने अपेक्षा गरिएको छ।






