सर्लाही — उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदको संयुक्त बैठकमार्फत आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट प्रस्तुत गरेका छन्।
आगामी आर्थिक वर्षका लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी गराए। बजेट विवरण अनुसार चालू खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ, जुन कुल बजेटको ६०.१ प्रतिशत हो, छुट्याइएको छ।
त्यसैगरी, पुँजीगत खर्चका लागि ४ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ (२०.८ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१ प्रतिशत) विनियोजन गरिएको छ।
यो बजेट चालू आर्थिक वर्षको बजेट भन्दा ५.६ प्रतिशतले बढेको र संशोधित बजेटको तुलनामा १८.२ प्रतिशतले बढी रहेको उल्लेख गरिएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो।







