धनकौल – मदन भण्डारी फाउन्डेशन, धनकौल गाउँपालिका कार्यसमितिका अध्यक्ष मुकेश कुमार सिंहको नेतृत्वमा धनकौल गाउँपालिका–३ का दुई जना एकल तथा दलित बृद्वा महिलालाई सम्मान गरिएको छ।
फाउन्डेशनको पहलमा ८५ वर्षीया चम्पा देवी पासवान र ८० वर्षीया बाल केशी देवी पासवानलाई सामाजिक सम्मानस्वरूप सम्मान गरिएको हो। कार्यक्रममा अध्यक्ष सिंहले वृद्ध महिलाहरूको जीवन संघर्ष, त्याग र अनुभवप्रति सम्मान प्रकट गर्दै फाउन्डेशन सधैं सामाजिक न्याय र समानताको पक्षमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

फाउन्डेशनका अनुसार सामाजिक रूपान्तरण र समानताको मूलमन्त्रलाई आत्मसात गर्दै दलित समुदायका असल अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त सम्मान प्रदान गरिएको हो। सम्मान कार्यक्रममा स्थानीय समुदायको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।





