सर्लाही – पर्साको वीरगंज महानगरपालिका–७, कुमाल टोलस्थित रेलवे रोडमा एक वेवारिसे पुरुषको शव फेला परेको छ।
प्रहरीका अनुसार गत १२ गते राति करिब ८:३५ बजे उत्तरबाट दक्षिणतर्फ गइरहेको लोडर गाडीले पैदल यात्रुलाई ठक्कर दिँदा गम्भीर घाइते भएका ती पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। मधेश प्रदेश ०३–००२ स ४३८८ नम्बरको लोडर गाडी वीरगंज–१६ भुटनदेवी टोलका किसन बर्णवालले चलाइरहेका थिए।

सोहि गाडीले ठक्कर दिँदा अन्दाजी २८ वर्ष उमेरका, तराई मुलका जस्तो देखिने अज्ञात पुरुष गम्भीर घाइते भएका थिए। घाइते अवस्थामै उनलाई तत्काल उपचारका लागि नारायणी अस्पताल, वीरगंज लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि परवानीपुरस्थित एल एस न्युरो एण्ड जेनरल अस्पतालमा रिफर गरिएको थियो।
सोहि अस्पतलमा उनको १३ गते राति उपचारका क्रममा मृत्यु भएको हो। प्रहरी टोलीले घटनास्थल पुगेर आवश्यक मुचुल्का तयारी र प्रारम्भिक अनुसन्धान गरी मृतकको शव हाल नारायणी अस्पताल वीरगंजको शवगृहमा राखिएको जनाएको छ।हालसम्म मृतकको सनाखत हुन नसकेकोले वीरगंज प्रहरीले मृतकलाई चिन्ने वा पहिचान गर्न सक्ने व्यक्तिहरूलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।





