अदालतबाट सफाइ पाएको दुई दिनमै आलमलाई मस्तिष्कघात, कस्तो छ ताजा अवस्था ?

२०८२ जेष्ठ १६, शुक्रबार २१:०४

सर्लाही – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ। उनलाई काठमाडौँस्थित माइतीघरको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो।

अस्पताल स्रोतका अनुसार आलमलाई अहिले आइसियुमा राखेर उपचार थालिएको छ। परिवारका सदस्यहरूले बिहान साढे १० बजे उनलाई अस्पताल लगेका थिए। चिकित्सकहरूको भनाइअनुसार उनलाई बिहान ७ बजेतिर मस्तिष्कघात भएको थियो।

राजनीतिक तथा कानुनी उतारचढावबीच रहेका आलमले हालै मात्रै उच्च अदालत वीरगञ्जबाट आपराधिक बम विष्फोटसम्बन्धी मुद्दामा सफाइ पाएका थिए। यसअघि रौतहट जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा भएको बम विष्फोटसँग जोडिएको उक्त घटनामा २०७६ सालमा पुनः अनुसन्धान भएपछि आलमविरुद्ध मुद्दा चलाइएको थियो।

प्रहरी अनुसन्धानका अनुसार, निर्वाचन नतिजालाई प्रभावित पार्न उनले बम बनाउने योजना बनाएका थिए, र त्यही क्रममा विष्फोट हुँदा घाइते भएका व्यक्तिहरूलाई आलमले ज्यूँदै इँटाभट्टामा जलाएर मारेको आरोप लागेको थियो।

२९ कात्तिक २०७६ मा रौतहट जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। हाल उनको स्वास्थ्य अवस्था गम्भीर मानिएको छ र चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार