सेनेटरी प्याड बनाउन तालिम: किशोरीका हातमा स्वच्छता र आत्मनिर्भरताको सीप

२०८२ जेष्ठ १७, शनिबार ०६:२०

सिरहा – महिनावारीका दिनमा आफूलाई सुरक्षित राख्न अब सिरहाकी बन्दनाकुमारी महतोले अरूमा भर पर्नुपर्ने छैन। विद्यालयमा लिइएको छोटो तालिमले उनलाई आत्मनिर्भर बनाएको छ — अब उनी आफैंले घरेलु सामग्री प्रयोग गरेर सेनेटरी प्याड बनाउन सक्छिन्।

सिरहाको नवराजपुर गाउँपालिका–४ मा रहेको जनता नमूना (प्राविधिक धार) माध्यमिक विद्यालयकी कक्षा १० की छात्रा बन्दनाका अनुसार, उनले तालिममा स-साना कपडाको टुक्रा उपयोग गरेर स्वच्छ, प्रयोगयोग्य प्याड कसरी बनाउने भन्ने कुरा सिकिन्।

अब उनले ममीसँग पैसा माग्ने झन्झटबाट मुक्ति पाएकी छन्। “रुमाल जस्तै बोकेर हिँड्न मिल्ने, जुन बेला चाहियो त्यही बेला प्रयोग गर्न मिल्ने प्याड बनाउने सीप आएपछि सजिलो भएको छ,” उनले हर्षका साथ भनिन्। बन्दनाझैँ, सोही गाउँपालिकाको रमेश महतो स्मृति जनता माध्यमिक विद्यालयकी पूजाकुमारी चौधरीले पनि यो तालिमबाट धेरै कुरा सिकेकी छन्।

अब उनले आफू मात्र होइन, घरका महिला सदस्यहरूलाई समेत घरेलु प्याड बनाउन सहयोग गर्ने योजना बनाएकी छन्। उनका अनुसार, “सस्तो, सुरक्षित र वातावरणमैत्री विकल्प भएकोले घरमै उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न सकिन्छ।”

तीन दिने तालिममा दुबै विद्यालयका गरी ५३ जना छात्रा सहभागी भएका थिए। सृजनशील नेपाली युवा समूह लहानले गाउँपालिकाको सहयोगमा आयोजना गरेको यो कार्यक्रमले किशोरीहरूमा आत्मविश्वास जगाएको छ।

तालिम सञ्चालनकर्ताहरूका अनुसार, बजारमा पाइने प्याड सबैको पहुँचमा छैन। प्रशिक्षक प्रतिभा गुप्ताले बताइन्, “महिनावारीका दिनमा विद्यालय जानसमेत कठिन हुने अवस्थामा घरेलु प्याडले सहजता दिन्छ, साथै स्वास्थ्यका दृष्टिकोणले पनि उपयोगी हुन्छ।”

प्रशिक्षक सङ्गिता चौधरीका अनुसार, “कपडा, सुई, धागो र थोपा सीप भएमा कसैले पनि घरमै सुरक्षित प्याड बनाउन सक्छ। यो उपाय सस्तो मात्र होइन, संक्रमणबाट बच्न समेत सहयोगी हुन्छ।”

विद्यालयका प्रधानाध्यापक मुरारी शर्माका अनुसार, आर्थिक अभावका कारण धेरै किशोरी नियमित कक्षामा उपस्थित हुन सक्दैनन्। यस्तो अवस्थामा स्वनिर्मित प्याडले उनीहरूलाई शिक्षाबाट टाढा पर्न नदिने आशा गरिएको छ। – रासस

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार