मधेशमा १४ सय महिला कृषक स्वयंसेविका परिचालनको तयारी

२०८२ जेष्ठ १७, शनिबार १९:४७
पूर्व मुख्यमन्त्री सतिश कुमार सिहं

सर्लाही — कृषि क्षेत्रमा महिलाको सहभागिता बढाउने उद्देश्यसहित मधेश प्रदेश सरकारले १४ सय महिला कृषक स्वयंसेविका परिचालन गर्ने योजना अघि सारेको छ। मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार ‘महिला कृषक स्वयंसेविका कार्यक्रम’ अन्तर्गत प्रदेशका प्रत्येक वडामा एक जना महिला स्वयंसेविका नियुक्त गरिनेछ।

उनले कृषि क्षेत्रमा सेवा प्रवाहलाई सशक्त बनाउने हेतुले यो कार्यक्रम ल्याइएको स्पष्ट पारे। मुख्यमन्त्री सिंहले भने, “स्वास्थ्य क्षेत्रका महिला स्वयंसेविकाले जसरी गाउँ-गाउँमा पुगेर सेवा दिँदै आउनुभएको छ, त्यसैगरी कृषिमा पनि प्रत्यक्ष रुपमा किसानसँग सम्पर्क गरेर कृषि सेवा दिने प्रणाली लागू गर्न लागिएको हो।”

उनले यो कार्यक्रमले कृषि उत्पादनमा सुधार ल्याउनुका साथै रोजगारी सिर्जना र मधेशलाई आत्मनिर्भर बनाउने दिशामा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। “मधेश श्रमिकको भूमि हो। वैदेशिक रोजगारीमा जानेको सङ्ख्या धेरै छ, अब कृषि क्षेत्रमा अवसर सिर्जना गर्दै युवालाई स्वदेशमै रोजगारी दिने वातावरण बनाउनेछौं,” मुख्यमन्त्री सिंहले उल्लेख गरे।

सरकारले स्वयंसेविकालाई कृषि प्रवर्द्धन, बीउ उत्पादन, किरा नियन्त्रण, मल व्यवस्थापनलगायत विषयमा तालिम दिई किसानलाई प्रत्यक्ष सेवा दिने जिम्मेवारी दिने तयारी गरेको छ।

साथै, सिंहका अनुसार कार्यक्रमले महिलालाई आर्थिक रूपमा सक्षम बनाउँदै रोजगारीमा पहुँच सुनिश्चित गर्ने लक्ष्य लिएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जेठ १५ गते सूचना प्रकाशन गर्दै इच्छुक महिलाहरूलाई १५ दिनभित्र कृषि ज्ञान केन्द्रमा दरखास्त दिन आह्वान गरिसकेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार