
सर्लाही – प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज (आइतवार) मधेश प्रदेशको जनकपुरधाममा ६४ वटा सडक शिलान्यास गर्ने भएका छन्।
निधि भवनमा डिजिटल माध्यमबाट आयोजना हुने कार्यक्रममा, प्रत्येक ५ किलोमिटरका ६४ वटा सडक विभिन्न प्रादेशिक निर्वाचन क्षेत्रहरूमा निर्माणको थालनी हुनेछ। कुल ३२० किलोमिटर सडक तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित शिलान्यास गर्न लागिएको हो।
भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार साढे ५ मिटर चौडा सडक निर्माणमा झण्डै १२ अर्ब ७० करोड रुपैयाँ लाग्नेछ। विश्व बैंकको सहयोगमा यस अन्तर्गत १९८ किलोमिटर कालोपत्रे, ३२६ किलोमिटर मर्मत, र १,००० किलोमिटर नियमित मर्मत गरिनेछ।
‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत यो दोस्रो चरणको योजना हो। सडक छनोट सांसदहरूको सिफारिस र सर्वदलीय सहमतिमा गरिएको नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले जानकारी दिए।