रुसमा पुल भत्किएर रेल्वे ट्र्याकमा खस्दा ७ जनाको मृत्यु

२०८२ जेष्ठ १८, आईतवार ११:०७

मस्को — युक्रेन नजिकको रूसी सहर ब्रेन्स्कमा शनिबार साँझ एक भयानक दुर्घटना भएको छ। भारी ट्रकहरू एकसाथ गुडिरहेका बेला एक राजमार्गको पुल अचानक भत्किँदा त्यो पुल सीधै रेल्वे ट्र्याकमाथि खस्यो। दुर्भाग्यवश, त्यही समयमा ट्र्याकमा यात्रुबाहक रेल चलिरहेको थियो।

दुर्घटनाका कारण कम्तीमा सात जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने ३१ जना घाइते भएका छन्। स्थानीय गभर्नर अलेक्जान्डर बोगोमाजले टेलिग्राममार्फत मृतकको संख्या सार्वजनिक गरेका हुन्। घाइतेमध्ये दुई गम्भीर अवस्थामा छन्, जसमा एक बालबालिकासमेत छन्।

घटनापछि उद्धार टोलीले रेलमा फसेका यात्रुहरूको खोजी तथा उद्धार कार्य तीव्र बनाएको रूसी आपतकालीन सेवा मन्त्रालयले जनाएको छ। घाइतेहरूलाई ब्रेन्स्क क्षेत्रका विभिन्न अस्पतालमा उपचार गरिँदैछ।

यस दुर्घटनाबारे विस्तृत अनुसन्धान सुरु भइसकेको अधिकारीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार