सर्लाही – बारामा सवारी दुर्घटनामा एक नाबालिकाको ज्यान गएको छ। जिल्लाको कलैया उपमहानगरपालिका-१ स्थित बालमन्दिर क्षेत्र नजिकै आइतबार दिउँसो टिपरको ठक्करबाट एक ६ वर्षीया बालिकाको मृत्यु भएको हो।
दुर्घटनामा ज्यान गुमाउने बालिका मोतिहारी, भारत घर भई हाल मोतीबाघ, बारामा डेरा गरी बस्दै आएका हरेराम साहकी छोरी सिवानी साह थिइन्। बाटो काट्ने क्रममा ना १ क ८०५६ नम्बरको टिप्परले उनलाई ठक्कर दिएको थियो।

गम्भीर घाइते भएकी सिवानीलाई तत्काल उपचारका लागि कलैयास्थित आशिर्वाद अस्पतालमा पुर्याइएको थियो। त्यहाँबाट थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि टिपर चालक सत्यनारायण साहलाई नियन्त्रणमा लिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।





