नारायणहिटी दरबार हत्याकाण्डको २४ वर्ष : अझै अनुत्तरित प्रश्नहरू

२०८२ जेष्ठ १९, सोमबार ०९:१९

सर्लाही – पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ । विसं २०५८ जेठ १९ गतेको त्यो शनिबार साँझ, राजपरिवारको पारिवारिक भोजले दरबार परिसरलाई झकझक्याएको थियो, जुन साँझ कहिल्यै नबिर्सने दुःखान्तमा परिणत भयो।

त्यही साँझ तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, छोरा अधिराजकुमार नीराजन, छोरी अधिराजकुमारी श्रुति, भाइ धीरेन्द्र र अन्य सदस्यहरू शान्ति, श्रद्धा, जयन्ती तथा श्रद्धाका पति कुमार खड्गविक्रम शाहको गोली प्रहारबाट ज्यान गएको थियो। घाइते अवस्थामा रहेका युवराज दीपेन्द्रलाई भोलिपल्ट, जेठ २० गते, राजा घोषणा गरिएको थियो।

तर उनी अस्पतालमै उपचाररत रहेका कारण तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रलाई कार्यवाहक भूमिकामा नायबी राजाको रूपमा तोकिएको थियो। जेठ २२ मा दीपेन्द्रको पनि निधन भएपछि ज्ञानेन्द्र नै औपचारिक रूपमा राजा बनेका थिए। घटनाको अनुसन्धानका लागि प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट सम्मिलित दुई सदस्यीय समिति गठन गरियो।

समितिको प्रतिवेदनअनुसार युवराज दीपेन्द्रले आफ्नै परिवारमाथि गोली प्रहार गरी आत्महत्या गरेका थिए। तथापि, यो निष्कर्षप्रति जनमानसमा अझै गहिरो आशंका र असन्तुष्टि रहेको पाइन्छ। वीरेन्द्र परिवारको स्मृतिमा विभिन्न श्रद्धाञ्जलि कार्यक्रमहरू आयोजना हुँदै छन्। जावलाखेलस्थित पूर्वराजा वीरेन्द्रको सालिकमा योगी नरहरिनाथ आध्यात्मिक परिषद्‍को आयोजनामा माल्यार्पण र श्रद्धाञ्जलि सभा गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार