सर्लाही – नेपाली कराते खेलाडी एरिका गुरुङले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित प्रतियोगिता कराते वान प्रिमियर लिग मा कांस्य पदक जित्दै नयाँ उपलब्धि हासिल गरेकी छन्। मोरक्कोको राजधानी राबातमा आयोजित प्रतियोगिताको महिला ६८ केजीभन्दा माथिको तौल समूहमा उनले यो गौरवपूर्ण पदक आफ्नो नाममा लेखाएकी हुन्।
कांस्य पदकका लागि भएको भिडन्तमा एरिकाले फ्रान्सकी क्लेमेन्स पिईलाई ६–२ को अंक अन्तरले पराजित गर्दै विजय सुनिश्चित गरेकी हुन्। यसअघि सेमिफाइनलमा स्पेनकी मारिया गार्सिया टोरेससँग प्रतिस्पर्धा गर्दा दुबैबीच ५–५ को बराबरी भए पनि सेन्सुका आधारमा एरिका पराजित भएकी थिइन्, जसका कारण उनी कांस्य पदकका लागि प्रतिस्पर्धामा उत्रिएकी थिइन्।

यो एरिकाको प्रिमियर लिगमा पहिलो सहभागिता भए तापनि उनले पदक जितेर नेपाली करातेको इतिहासमा उल्लेखनीय सफलता थपेकी छन्। प्रारम्भिक समूह चरणमा उनी पोल ६ मा परेकी थिइन्, जहाँ टर्की, इटाली र साइप्रसका खेलाडीहरूमाथि उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रबेश गरेकी थिइन्।
क्वार्टरफाइनलमा उनले इजिप्टकी महगुब हादीलाई ८–२ ले हराएर सेमिफाइनलमा स्थान बनाएकी थिइन्। अन्ततः फाइनल पुग्न चुकेकी भए तापनि कांस्य पदक जितेर उनले प्रतियोगिता स्मरणीय बनाएकी छन्। उक्त तौल समूहको स्वर्ण पदक स्पेनकी टोरेसले इंग्ल्यान्डकी रोचेल्स वाल्टर्सलाई ४–२ ले हराउँदै जितेकी हुन्।
नेपालबाट प्रतियोगितामा प्रतिनिधित्व गर्ने एकमात्र खेलाडी एरिका यसअघि उज्वेकिस्तानको ताशकन्दमा सम्पन्न २१ औं एसियन सिनियर कराते च्याम्पियनसिप खेलिसकेर सिधै मोरक्को पुगेकी थिइन्। ताशकन्दमा भने उनले पदक हात पार्न सकेकी थिइनन्। एरिकाको यो कांस्य पदक कराते लिगमा दोस्रो पदक हो। यसअघि फेब्रुअरीमा युएईमा आयोजित कराते युथ लिग के–वान प्रतियोगितामा उनले रजत पदक जितेकी थिइन्।
पछिल्लो दुई वर्षमा एरिका गुरुङ नेपाली करातेको प्रमुख अनुहार बनेकी छन्। उनले १९ औं एसियाली खेलकुदमा रजत, एसियन च्याम्पियनसिपमा रजत, जकार्ताको विश्व सितोरियो च्याम्पियनसिपमा स्वर्ण, अमेरिका (टेक्सस) को यूएस ओपनमा स्वर्ण र रजत, भुटानको दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण, अष्ट्रेलियन ओपनमा स्वर्ण तथा सिंगापुरको एपीएसकेएफ च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै देशलाई गौरव दिलाएकी छन्। उनको यो निरन्तर सफलता नेपाली करातेका लागि प्रेरणा बन्न पुगेको छ।





