सर्लाही — सशस्त्र प्रहरी बलको नेचुङ बोर्डर आउट पोस्ट (बीओपी), माथिल्लो मुस्ताङमा कार्यरत सिपाही सुनील श्रीषले पर्यटकलाई सीमा सुरक्षा र स्वास्थ्य सतर्कताबारे प्रभावकारी रूपमा जानकारी गराएको भन्दै सम्मानित भएका छन्।
सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालको निर्देशनमा उनलाई नगदसहित सेवा अभिलेखमा उल्लेख हुने गरी पुरस्कृत गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

जेठ १५ गते कोरला नाका भ्रमणमा गएका आन्तरिक पर्यटकलाई सिपाही श्रीषले उच्च हिमाली क्षेत्रको भूगोल, स्वास्थ्य जोखिम, सीमा क्षेत्रका नियमलगायतका विषयमा सहज र स्पष्ट रूपमा जानकारी दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनको प्रशंसा चुलिएको हो।
भिडियोमा उनले पर्यटकहरूलाई मुस्कानसहित स्वागत गर्दै कोरला नाका ४६०० मिटर उचाइमा रहेको, त्यहाँ पुग्दा स्वास्थ्यमाथि थप असर पर्न सक्ने, सीमा पिलरमा कुनै वस्तु नराख्न र दशगजा क्षेत्रमा सतर्क रहन आग्रह गरेको देखिन्छ।
तीन वर्षअघि सशस्त्र प्रहरीमा प्रवेश गरेका श्रीष चैतदेखि नेपाल–चीन सिमानामा पर्ने नेचुङ बीओपीमा कार्यरत छन्। बीओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाका अनुसार, कोरला नाका जान चाहने आन्तरिक पर्यटकलाई प्रहरीले नियमित रूपमा स्वागत गर्दै आवश्यक जानकारी प्रदान गर्दै आएको छ।
पछिल्लो समय उक्त क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ भने विदेशी पर्यटकलाई भने नेचुङ बीओपीभन्दा माथि जान अनुमति छैन।





