मधेसमा विपद् तयारी: सशस्त्र प्रहरीले बनाउँदै ‘डिजास्टर भोलेन्टियर’

२०८२ जेष्ठ २०, मंगलवार ०६:४१

सर्लाही – सशस्त्र प्रहरी बल, नेपालले प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरणका लागि मधेस प्रदेशका सबै आठ जिल्लामा समुदायस्तरमै ‘डिजास्टर भोलेन्टियर’ तयार गर्न थालेको छ।

मनसुनसँगै आउने बाढी, डुबान, हावाहुरी र अन्य प्राकृतिक विपद्‌हरूका कारण मधेस उच्च जोखिममा पर्न सक्ने आँकलन गर्दै सशस्त्र प्रहरीको मधेस बाहिनीले स्थानीय तहलाई प्रत्यक्षरूपमा संलग्न गराउँदै विपद्‌मैत्री जनशक्ति निर्माणको अभियान थालेको हो।

सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) कृष्ण ढकालका अनुसार प्रत्येक जिल्लाबाट औसतमा २५ जना स्थानीयलाई छनोट गरेर २१ दिने विशेष तालिम दिइँदैछ। “हामी चाहन्छौँ, विपद्का बेला सबैभन्दा पहिले प्रतिक्रिया दिने स्थानीय आफैँ तयार होऊन्,” उनले भने, “स्थानीयहरूको सहभागिताले धनजनको क्षति न्यून गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो।”

हालसम्म रौतहटमा ३८, महोत्तरीमा २६, सर्लाही, धनुषा र सप्तरीमा २५–२५ जना गरी १३९ जनालाई तालिम दिइँदैछ। बाँकी बारा, पर्सा र सिरहा जिल्लामा पनि चाँडै तालिम सञ्चालन गरिने सशस्त्र प्रहरीले जनाएको छ। डीआईजी ढकालका अनुसार विपद्‌ व्यवस्थापनमा स्थानीय जनता नै पहिलो उद्धारकर्ता हुने भएकाले उनीहरूलाई जिम्मेवार र सक्षम बनाउने लक्ष्यसहित यो कार्यक्रम ल्याइएको हो।

“सबै पालिकाका वडाहरूमा कम्तीमा २५ जना विपद् सूचक तयार पारिएका छन्,” उनले बताए, “अब उनीहरूमार्फत विपद्‌को तत्काल सूचना प्राप्त हुने र सशस्त्र प्रहरीको उद्धार टोलीसँग समन्वय गरेर राहत तथा उद्धार प्रभावकारी रूपमा गर्न सकिनेछ।” प्रदेशका सबै पालिकाबाट विपद् सूचकहरूको सम्पर्क विवरण संकलन गरिसकिएको छ र समन्वयलाई अझ चुस्त बनाइँदैछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार