बरहथवा – सर्लाहीमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। जिल्लाको बरहथवा नगरपालिका–१७ स्थित वडा कार्यालय नजिकै आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको हो। आज बिहान २:५० बजे तिर ना.४६ प.२८२० नम्बरको मोटरसाइकल कटानीबाट कडरिया टोलतर्फ जाँदै गर्दा आफै अनियन्त्रित भई सडक किनारमा रहेको पुलको दाहिने छेउबाट करिब २ देखि ३ मिटर तल खस्दा दुर्घटना भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मलंगवा नगरपालिका–४ निवासी कैलाश रायका अन्दाजी ३५ वर्षीय छोरा घनश्याम रायको मृत्यु भएको छ। दुर्घटनामा परि उनि गम्भीर घाइते भएका थिए। उनको टाउको, निधार र दुबै आँखा माथि गहिरो चोट लागेको थियो। घाइते रायलाई तत्कालै बरहथवास्थित भेनस अस्पतालमा उपचारको लागि लगिएकामा त्यहाँ सामान्य उपचार पछि थप उपचारका लागि बिहान ४ बजे बारास्थित एलएस न्युरो अस्पतालमा पठाइएको थियो। तर, उपचारका क्रममा बिहान ५:५५ बजे उनको मृत्यु भएको हो।

दुर्घटनास्थलमा ईलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी नायव निरीक्षक उदय कुमार झाको कमाण्डमा दुई जना प्रहरीको टोली खटिएको छ। मोटरसाइकल घटनास्थलमै फेला परेको र घाइतेको उपचारमा आफन्तहरू संलग्न रहेको प्रहरीले जनाएको छ। दुर्घटना भएको स्थान मुर्तिया ईलाका प्रहरी कार्यालयबाट करिब ८ किलोमिटर दक्षिणमा पर्ने जनाइएको छ। यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय, मुर्तियाले जानकारी दिएको छ।





